अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा सहभागी हुन् गोर्खा जिल्लाको काशीगाउँतिर जाँदै गरेको जनप्रतिनिधिसहितको जिप गएराती दुर्घटना हुँदा एक वडा जना सचिबको घटनास्थलमा नै मृत्यु भएको छ भने धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ लगायत सात जना घाइते छन ।
गएराती आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ ।
सडकबाट तल खसेको जीपमा सवार ८ जना मध्ये एक जना लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको मान्बु प्रहरीले जनाएको छ । धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ लगायत सात जना घाइते छन ।
उनीहरु काशीगाउँमा आजको कार्यक्रममा भाग लिन जाँदै थिए । काशीगाउँमा अपाङ्गता परिचय पत्र वितरणको कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।
घाइते सात जनालाई एम्बुलेन्समा राखेर उपचारस्थलसम्म पुर्याउन सकिने स्थिति नरहेको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए ।
नेपाली सेनाको ठूलो हेलिकप्टर पठाईदिन माग गरेका छौं, हेलिकप्टर नआउँदासम्म घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउन सकिने स्थिति नरहेको उनले बताए ।