उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पससँगैको दुईसय २२ रोपनीभन्दा बढी विवादित जग्गाको स्वामित्व बारे टुंगो लगाउन मालपोत कार्यालय कास्कीलाई आदेश गरेको छ । पोखरा–१ बगरस्थित तल्लो तगराको कित्ता नम्बर ८३३ को उक्त जग्गा पृथ्वीनारायण क्याम्पसको कि व्यक्तिको भन्ने विवाद लामो समयदेखि जारी छ ।
मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश डालकुमार खड्काको संयुक्त इजलासले आइतबार कास्की मालपोतलाई आदेश दिएको हो । उक्त जग्गाको टुंगो नलगाई व्यक्तिले आफ्नो दाबी गरी जग्गा दर्ताका लागि दिएको निवेदन मालपोतले तामेलीमा राखिदिएको थियो । स्थानीय ध्रुवप्रसाद पराजुलीसहित ८६ जनाले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै मालपोतमा निवेदन दिएका थिए । पृथ्वीनारायण क्याम्पस र विभिन्न विद्यार्थी संगठनले उक्त जग्गा क्याम्पसकै नाममा हुनुपर्ने भन्दै आएका छन् ।
‘वादी र प्रतिवादीले दाबी गरेको जग्गामा निजहरूको दाबी पुग्ने/नपुग्ने सम्बन्धमा आवश्यक छानबिन र जाँचबुझ गरी बुझ्नपर्ने प्रमाण बुझी शीघ्र निर्णय गर्नुपर्नेमा त्यो नगरी लामो समयसम्म दर्ता प्रक्रिया रोक्का राख्ने कास्की मालपोत कार्यालयको निर्णय गैरकानुनी देखिँदा तामेली आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ आदेशमा भनिएको छ ।
मालपोतले २०६७ पुस २९ को निर्णय आदेशबमोजिम भनी २०७६ असार ४ मा विवादित जग्गासम्बन्धी निवेदन तामेलीमा राखेको थियो । ‘आदेशको सार भनेको जग्गा दर्ता निवेदनको कारबाही नगरी तामेलीमा राखिएकामा त्यो नगरी अन्य प्रमाण बुझेर मालपोत आफैंले टुंगो लगाउने वा अदालतमा जान भनिएको हो,’ उच्च अदालत पोखराका उपरजिस्ट्रार पुष्पराज दाहालले भने ।
यस मुद्दामा प्रशासन, मालपोत र नापी कार्यालय कास्की, पृथ्वीनारायण क्याम्पस, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अखिल छैटौं, अनेरास्ववियु एकीकृत र अनेरास्ववियु प्रतिवादी छन् । उक्त जग्गा स्थानीयले २०३२ यता चारपटकसम्म दर्ताको पहल थालेका थिए । तर क्याम्पसले पनि आफ्नो दाबी गरेपछि दर्ता रोकिएको हो ।
त्यसपछि स्थानीयले २०४० मा मालपोत कार्यालयमा जग्गा दर्ताको निवेदन दिएका थिए । तर मालपोतले अहिलेसम्म कुनै टुंगोमा नपुर्याई निवेदन तामेलीमा राखिदिएको थियो ।
कास्की प्रशासनले २०६७ वैशाख १४ मा मालपोतलाई लेखेको पत्रका आधारमा जग्गा दर्ता प्रक्रिया रोक्का राखी निवेदकको निवेदन तामेलीमा राखेको देखिएको अदालतले जनाएको छ । साभार कान्तिपुर दैनिक
पिएन क्याम्पसको जग्गामा गिद्धे नजर : विवेक देवकोटा, अध्यक्ष, अनेरास्ववियु, कास्की
विसं २०१७ भदौ १७ गते विधिवत् रूपमा आफ्नो यात्रा सुरू गरेको पृथ्वीनारायण क्याम्पस पोखराले आजसम्म ५९ वर्ष पुग्यो । तत्कालीन समयमा शिक्षाका लागि शिक्षालयहरू निर्माणको काम प्रारम्भ विन्दुमै थियो । त्यही लहरलाई छोप्दै पोखरा र आसपासका नागरिकहरूले गरेको जोडबलका कारण पृथ्वीनारायण क्याम्पस पनि पोखराको भिमकालिपाटन बगरमा २ शिक्षक र ३ कर्मचारीका साथ सेती किनारको तिनपाटे जमिन ७ सय २२ रोपनीलाई अंगालेर स्थापना भएको भयो ।
स्थापना अगावै क्याम्पस परिसरको जग्गामध्येमा बिना कागज, आदेशका भरमा केही भाग (४ सय रोपनी) जुन ठाउँमा आज कक्षा भवनहरू छन् त्यति मात्रै जमिन भोगचलनमा थियो भन्ने कुराको यथेष्ट लिखित र मौखिक प्रमाणहरू छन् ।
बाँकीको ३ सय २२ रोपनी जमिन बिना भोगचलन सार्वजनिक गौचरणका रूपमा रहेको थियो भन्ने कुरा हामीले सुन्दै आइरहेका छौँ । त्यसो त त्यो बेलाको सरकारी कार्यलयले यी दुबै प्रकारका जमिनलाई क्याम्पसले उपयोग गर्ने भनी भोगचलन वालाहरू सहितको मञ्जुरीमा पृथ्वीनारायण क्याम्पसलाई उपलब्ध गराएको इतिहास छर्लङ छ ।
तर यतिबेला भने यो यथार्थ इतिहासलाई भुलेर भिमकालिपाटन वरपरका स्थानीय पराजुलीहरू क्याम्पसको तल्लो पाटोको जमिन २ सय ७० रोपनीमाथि आफ्नो हकदाबी गरिरहेका छन् । जुन जमिन क्याम्पस स्थापना भन्दा पहिला नै भोगचलन नगरिएको ३२२ रोपनी भित्र पर्दछ । स्थानीय पराजुलीहरूको यो हर्कदलाई जमिन माथिको गिद्धे नजर बाहेक अरू भन्न सकिदैन ।
पृथ्वीनारायण क्याम्पसले आफ्नो स्थापनाको मितिदेखि नै उक्त २ सय ७० रोपनी जग्गालाई भोगचलन गर्दै आईरहेको छ । प्रत्येक बर्षको वर्षायाममा क्याम्पसले पुरै ७ सय २२ रोपनी भरीको घाँस बेच्ने गरेको छ । कहिले वृक्षरोपण, कहिले तारबार त, कहिले खेलकुदका कार्यक्रमहरू आयोजना गर्ने क्याम्पसले उक्त सबै जमिनलाई आफ्नो आवश्यकताको आधारमा प्रयोग गरिरहेको छ ।
भोगचलन कै हकमा पनि उक्त जग्गा पिएन क्याम्पस कै हुन्छ । सारा नेपालीहरूको ज्ञान पुञ्जको रूपमा उभिएको शिक्षाको मन्दिर पृथ्वीनारायण क्याम्पसमा गिद्धे नजर लगाउने केही पराजुली परिवारहरूले बाँकीका अरू परिवारहरू जसले क्याम्पसको हित चाहन्छन् र त्यो सबै ७ सय २२ रोपनी जग्गा पिएन कै हो भन्ने तर्क गर्छन् ती परिवार हरूको समेत नाम मुछेर पराजुलीका ८६ घरधुरीलाई हकदाबीवाला बनाएका छन् । यस्ता समाजका कुपात्रहरूलाई समयले माफी दिनेवाला छैन ।
पृथ्वीनारायण क्याम्पसको यो २ सय ७० रोपनी जमिनमाथि धेरै पटक भु–माफियाहरूको नजर लागेको छ । एकपटक २०६२÷६३ तिर रातारात जग्गाका दलालहरूले सुकुम्बासीका नाममा टहराहरू बनाएका थिए तर ती टहराहरूले घामको उज्यालो देख्न पाएनन् । क्याम्पसका प्रगतिशील जुझारु विद्यार्थीहरूले जमिन रक्षाका लागि कुनै कसुर बाँकी राखेनन् । पृथ्वीनारायण क्याम्पस लाई जबजब अप्ठ्यारो पर्छ तबतब विद्यार्थीहरू त्यो परिघटना उलट्याउन पनि सक्छन् । किनकि प्रायः सबै बिद्यार्थीहरूलाई आफ्नो विद्या मन्दिरको सधैं माया हुन्छ । त्यसमाथि पिएन क्याम्पस एउटा सामाजिक, राजनीतिक परिवर्तनको आधार थलो हो
पक्कै पनि जग्गाको आकाशिदोँ मूल्यले पोखराका पराजुलीहरूलाई पिएन क्याम्पसको जग्गाप्रति र्याल काँढ्ने बनाएको हुनुपर्छ । तर सबै पराजुलीहरू पनि यसमा सहमत छैनन् । अर्को तर्फ पिएनको इतिहासमा पराजुलीहरूलाई सधैं सम्मानको अक्षरले लेख्ने गरिन्छ । किनकि उनीहरूले भोगचलन गरेको केही जमिन सजिलै शिक्षाका लागि क्याम्पसलाई दान गरेका थिए । त्यो महानतालाई पराजुलीहरूले गौरवको रूपमा लिनु पर्छ र यस्ता पार नलाग्ने ‘छुचा’कामबाट हात झिक्नु पर्छ हैन भने बाजेहरूले गरेको दान कर्मलाई खरानी बनाउने काम हुनेछ र लाखौं क्याम्पसबाट शिक्षित भएका विद्यार्थीहरूले पनि धिक्कार्ने छन् ।
भोलिका दिनमा शिक्षाको विशिष्टिकरण वैज्ञानिक तवरबाट हुँदै जाँदा पृथ्वीनारायण क्याम्पस को ७ सय २२ रोपनी जमिन पनि थोरै हुन जान्छ । त्यसमाथि क्याम्पसलाई विश्वविद्यालयको रूपमा निर्माण गर्ने सपना पूरा हुन बाँकी नै छ । विश्वविद्यालय बन्ने बित्तिकै नयाँ भवनहरू र अन्य क्रियाकलापहरूका लागि जमिन नपुग्ने निश्चित छ । यो यथार्थलाई गर्भमा राखेर जग्गाको विषयमा विवाद आउँदा चुप लागेर बस्न सकिदैँन ।
अन्तमा, पृथ्वीनारायण क्याम्पसको निर्माणका लागि पोखराबासी र यस क्याम्पसको वृद्धि विकासमा सारा नेपालीहरूको योगदान अतुलनीय छ । यस क्याम्पसबाट अध्ययन नगरेको विद्यार्थी सायदै नेपालको कुनै पनि क्षेत्रमा छैन । यस क्याम्पसको ऐतिहासिक पाटो बडो गौरवान्वित छ । मैले क्याम्पसका सन्दर्भमा केहीँ अक्षरहरू भेला गर्नुको कारण पिएन क्याम्पसलाई पटकपटक जग्गाका नाममा जिस्क्याउने तत्वलाई निस्तेज पारेर क्याम्पसलाई ७ सय २२ रोपनी जमिन सहित स्वतन्त्र पार्नका खातिर हो । यसपटक क्याम्पसमाथि हकदाबीको मुद्दा दायर गर्ने निहित अभिष्ट बोक्ने केही पराजुलीहरूलाई पाठ सिकाउन जरुरी छ । यसका लागि सम्पूर्ण पृथ्वीनारायण क्याम्पसलाई माया गर्ने महानुभावहरूलाई क्याम्पसको पक्षमा आ–आफ्नो ठाउँबाट भूमिका खेल्न हार्दिक अपिल गर्दछु ।