पोखरा, २० असार २०८३ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा पोखराका तीर्थ श्रेष्ठलाई नियुक्त गरेका छन्। कोषका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त पदमा मनोनयन गरेका हुन्। श्रेष्ठले बिहीबार मन्त्री पौडेलबाट नियुक्तिपत्र बुझेका छन्।
पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा करिब २५ वर्षसम्म सचिव तथा वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठलाई पशुपति क्षेत्र विकास कोषको प्रशासनिक व्यवस्थापन सुदृढ बनाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिव तथा पोखरा महानगरपालिकाका पूर्वउपमेयरसमेत हुन्। उनको नियुक्तिसँगै पशुपति क्षेत्र विकास कोषको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ। कोषले पशुपतिनाथ मन्दिर परिसरको व्यवस्थापन, सम्पदा संरक्षण तथा धार्मिक तथा सांस्कृतिक गतिविधिको समन्वय गर्दै आएको छ।
२०१६ साल कात्तिक १६ गते पोखराको सिंहनाथ टोलमा जन्मिएका श्रेष्ठ नेपाली साहित्य, कला र संस्कृतिका स्थापित स्रष्टाका रूपमा परिचित छन्। २०३६ सालको ऐतिहासिक सडक कविता आन्दोलनबाट साहित्यिक यात्राको सुरुआत गरेका उनले नेपाली लेखक सङ्घको केन्द्रीय अध्यक्ष तथा पोखरेली युवा सांस्कृतिक परिवारको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
उनका ‘आमा’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’ र ‘महाभारतका गीतहरू’ लगायतका कृतिहरू नेपाली साहित्यमा चर्चित मानिन्छन्। साहित्य तथा संस्कृतिमा पुर्याएको योगदानका लागि उनी युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार तथा प्रबल जनसेवा श्री पदकलगायत विभिन्न सम्मानबाट विभूषित भइसकेका छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पुरातात्त्विक तथा धार्मिक महत्वको संरक्षण, कोषको पारदर्शी प्रशासन र आर्थिक व्यवस्थापन तथा सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गर्नु नवनियुक्त सदस्य सचिव श्रेष्ठका प्रमुख जिम्मेवारी र चुनौतीका रूपमा हेरिएको छ।