पोखरामा चालकले मादक पदार्थ रक्सी खाएर स्कुल भ्यान चलाउँदा भएको दुर्घटनामा परेर : दुई जना विद्यार्थी घाइते भएका छन्।
पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा हेप्पी बोर्डिङ स्कुलको ग१क ६६२२ नम्बरको भ्यान अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना ग्रस्त हुँदा दुई जना बिद्यार्थी घाइते भएका हुन्।
दुर्घटनामा पोखरा महानगरपालिका–६ डिहिकोपाटन निवासी १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। त्यसैगरी पोखरा महानगरपालिका–१८ सेदी निवासी १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल लगिएको छ। उनीहरूको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएका चालक स्याङ्जाको फेदीखोला गाउँपालिका–२ निवासी ५२ वर्षीय बलराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।