पोखरा, २० असार २०८३।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतरास्थित सडकबाट कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भएको भनिएको क.प्र. ०२–००१ ख ९०५५ नम्बरको फोर्स गाडी अझी भेटिएको छैन भने सोहि गाडीसंगै बेपत्ता रहेका चार जनाको पहिचान खुलेको छ।
सडकबाट करिब चार सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको फोर्स गाडीसंगै गाडीका धनी समेत रहेका चालक चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँक तुलाराम सुबेदी र उनका भाई समेत रहेका सहचालक रामप्रसाद सुबेदी, रास्कोट नगरपालिका–२, कालिकोटकी सिर्जना खड्का र पचालझरना गाउँपालिका–९, कालिकोटका मेखे तिरुवाको अझै अत्तोपत्तो नभएको प्रहरीले जानकारी दिएको छ। पचालझरना गाउँपालिका–९, कालिकोटका जेखे तिरुवाको शब घटनास्थलमा नै भेटिएको प्राप्त समाचारमा जनाइएको छ।
शुक्रबार बिहान अन्दाजी ११:३० बजे क.प्र. ०२–००१ ख ९०५५ नम्बरको फोर्स गाडी सडकबाट अनियन्त्रित भई कर्णाली नदीमा खसेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासीको संयुक्त टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो। कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वय गरेर खोजी कार्य सञ्चालन गरिएको प्रहरीले दाबी गरेको छ।
दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको शव परिवारले सनाखत गरिसकेको छ। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान जारी रहेको जनाएको छ। साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली घटनास्थल, सम्भावित बग्ने क्षेत्र, नदी किनार तथा अन्य जिल्लासम्म खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर सञ्चालन गरिरहेको छ।