पोखरा , १७ असार २०८३।
हत्या आरोपमा सर्बोच्च अदालतले दोषी ठहर भएका एक युवा जेल चलान भएका छन्।
पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने वर्ष ३५ का माइला भन्ने बुद्ध श्रेष्ठ मंगलबार कास्की जिल्ला कारागार चलान भएका हुन्।
उनलाई २०७१ फागुन ६ गते बिहान सेतीघाटमा मृत भेटिएका कास्की जिल्लाको मादी गाउँपालिकाको सिल्दुजुरेका ३५ वर्षीय सूर्य पाण्डेको हत्या आरोपमा सर्बोच्च अदालतले गएको जेठ २० गते दोषी ठहर गर्दै छ महिना कैद सजायं तोकेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई मंगलबार नै पक्राउ गरेर फैसला कार्यान्बयनका लागि कास्की जिल्ला अदालतमा पेश गरेकोमा अदालतले कास्की जिल्ला कारागार चलान गरेको हो।
सर्बोच्चको उक्त फैसलाले ६ महिना कैद सजाय ठहर भएकोमा निजले अब चार महिना नौ दिन कैदसजाय भुक्तान गर्न बाँकी रहेकोले त्यति नै समय जेल जीवन बिताउनु पर्ने प्रहरीले बताएको छ।
प्राप्त घटना विवरण अनुसार , २०७१ साल फागुन ५ गते शिवरात्रीका दिन याँबजारमा मोटरसाइकल वर्कशपमा मिस्त्री काम गर्दै आइरहेका सुर्य पाण्डे र उनका साथि माइला भन्ने बुद्ध श्रेष्ठ लगायत बसेर मादक पदार्थ सेवन गरेकोमा उनी भोलिपल्ट सेती घाटमा मृत भेटिएका थिए।
सेतीघाटमा छोरो मृत भेटिएको दिनदेखि निरन्तर आफ्नो छोराको हत्या भएको जिकिर गर्दै आइरहेकी हाल ७३ वर्षको उमेर पुगेकी विष्णुकुमारी पाण्डेले न्यायका लागि प्रहरी, प्रशासन र अदालतको ढोका घचघच्याई रहिन्। उनले केही सिप नलागेर संचारकर्मी , पत्रकार र मानवअधिकारकर्मीहरुसंग पनि सहयोगको याचना राखेर गुहार मागिन्। उनको रुवाईको कहीं कतै सुनुवाई भएन।
छोरा सुर्य पाण्डेको हत्या आरोपी माइला भन्ने बुद्ध श्रेष्ठलाई कास्की जिल्ला अदालतले मिति २०७७।१०।१९ गते आरोपबाट सफाई दिने फैसला गर्यो। उक्त फैसला उपर वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन गर्दा समेत मिति २०७८।१२।१३ गतेको फैसलाले सुरु फैसला नै सदर गरिदियो। जिल्ला अदालत र उच्च अदालत पोखराले सफाई दिएको भए पनि सर्वोच्च अदालतले भने अभियुक्त माइला भन्ने बुद्ध श्रेष्ठलाई आंशिक दोषी ठहर गर्दै २०८३|०२|२० गतेको ६ महिना कैद सजाय हुने फैसला गरेको थियो।