पोखरा , १८ असार २०८३।
दक्षिण कोरियाले २० वर्षपछि पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई जुलाई १ देखि लागू हुने गरी देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। दक्षिण कोरियाको इतिहासमा २० वर्षको अवधिमा पहिलो पटक हान सेओङ–सुक नयाँ प्रधानमन्त्री नियुक्त भएकी हुन्।
दक्षिण कोरियामा यसअघि २० अप्रिल २००६ देखि ६ मार्च २००७ सम्म Han Myeong-sook प्रधानमन्त्री बनेकी थिइन्।उनी दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री थिइन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता काङ यु–जुङले बुधबार हान सेओङ–सुकलाई जुलाई १ देखि लागू हुने गरी देशको नयाँ प्रधानमन्त्री नियुक्त भएको पुष्टि गरेका छन् ।
हान सेओङ–सुक राष्ट्रपति ली जे म्युङ नेतृत्वको सरकारमा दोस्रो महिला प्रधानमन्त्री बनेकी छन्। उनी पूर्व प्रधानमन्त्री किम मिन–सिओककी उत्तराधिकारीका रूपमा नियुक्त भएकी हुन् भने दक्षिण कोरियाको इतिहासमा ५०औँ प्रधानमन्त्री बनेकी छन्।
राष्ट्रिय सभाले हानको नियुक्तिलाई बहुमतका साथ अनुमोदन गरेको छ। भएको मतदानमा १६६ मत पक्षमा परेको थियो भने सरकार समर्थक दलका उपस्थित १६७ सांसदमध्ये एक जनाले विपक्षमा मतदान गरेका थिए।
मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) ले हान यस पदका लागि योग्य नरहेको दाबी गर्दै मतदान बहिष्कार गरे पनि गत जुन ३० मा बसेको संसद्को पूर्ण बैठकले उनको नियुक्तिलाई अनुमोदन गरेको हो।
यसअघि लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी हानको नियुक्तिसँगै दक्षिण कोरियाले दुई दशकपछि पुनः महिला प्रधानमन्त्री पाएको छ। उनको नियुक्तिलाई राष्ट्रपति लीको नयाँ प्रशासनमा लैङ्गिक समावेशिता र नेतृत्व सन्तुलनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।