पोखरा, २० असार २०८३ ।
नवलपुरमा सक्रिय रहेको मोटरसाइकल चोरी गर्ने गिरोहका पांच जना पक्राउ परेका छन्।
नवलपुर प्रहरीले विभिन्न मितिमा रातिको समयमा घरअगाडि पार्किङ गरी राखिएका मोटरसाइकल चोरी गर्ने गिरोहका तीन जना र चोरीका मोटरसाइकल खरिद गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका–७ घर भै हाल वचुली नगरपालिका–१७ वरटाडी बस्ने २८ वर्षीय मनोहर तामाङ, बुलिङटार गाउँपालिका–३ का १८ वर्षीय सन्देश काफ्ले र सोही क्षेत्रका २० वर्षीय उज्वल थापा रहेका छन्। उनीहरू मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
यस्तै चोरीका मोटरसाइकल खरिद गरेको आरोपमा देवचुली नगरपालिका–१३ दलदलेका २७ वर्षीय पुकार तामाङ र परिवर्तित नामथर २०८२/०८३ नवलपुर (A3) बहादुर (१७ वर्ष) पक्राउ परेका छन्।
पक्राउ परेका पाँचै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले बरामद भएका दुई मोटरसाइकलको वास्तविक धनीको पहिचान हुन नसकेको जनाएको छ। बरामद मोटरसाइकलमध्ये इन्जिन नम्बर DRGBTD69111, चेसिस नम्बर MDZDHDRZZTCD67301 भएको बा ४२ प ६११६ नम्बरको १५० सिसी पल्सर र इन्जिन नम्बर JA06EYEGJ16034, चेसिस नम्बर MDLGA06AGPYJ11753 भएको ना ३३ प ७११२ नम्बरको १२५ सिसी होण्डा ग्ल्यामर मोटरसाइकल रहेका छन्।
उक्त मोटरसाइकलका धनीले स्वामित्व खुल्ने आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालय नवलपुरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।