उच्च अदालतद्वारा पूर्व सभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार

उच्च अदालतद्वारा पूर्व सभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०७६
  • 4.5K
    Shares

उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई थुना मुक्त गर्न अस्वीकार गरेको छ। बलात्कारको प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको थियो।

उनी अहिले कारागारमा छन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त निर्णय सदर गरेको उच्च अदालतले जनाएको छ।

जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत गएका महराको मुद्दामा सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले एक महिनाभित्र मुद्दा किनारा लगाउन आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९६ बमोजिम लगातार कारबाही र सुनुवाई गर्नुपर्ने प्रकृतिको भएको र पीडितको बकपत्र समेत भैसकेको देखिँदा अन्य साक्षी बुझ्ने लगायतका प्रमाण बुझ्ने कार्य सम्पन्न गरी मुलुकी कार्यविधि संहिता, २०७४ दफा १३१ बमोजिम एक महिनाभित्र प्रस्तुत मुद्दाको कारबाही र किनारा गर्नुहोला ।’

महरा आफूविरुद्धको मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म थुनामा राख्ने जिल्ला अदालतको निर्णयलाई चुनौती दिँदै उच्च अदालत गएका थिए।

थुना बाहिरै रहेर जिल्ला अदालतमा आफूविरुद्ध परेको मुद्दाको सामना गर्नु पाउनुपर्ने उनको माग थियो।

उच्च अदालतले महरालाई रिहा गर्न नमान्ने निम्न आधारहरू प्रस्तुत गरेको छ:

  • महराले आफू पीडितको कोठा रहेको इलाकामा गएको तर निजसँग फोन सम्पर्क नभएपछि गल्लीबाटै फर्की आएको भनि आरोप अस्वीकार गरेको तर महरासँगै गएका काजिराम रानामगर समेतका सुरक्षाकर्मीले महरा पीडितको कोठा भएको घरको गेटभित्र प्रवेश गरेर डेढ घण्टापछि मात्र फर्केको कागज गरेको।
  • घटनापछि पीडितले रुँदै आत्तिदै सभामुख महराले आफूलाई कुटपिट गरी जबरजस्ती करणी गर्न खोजेको भनी प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेको र सोबारेमा महानगरीय प्रहरी वृत नयाँ वानेश्वरलाई जानकारी गराएको भनि ड्युटि अधिकृत प्रहरी सहायक निरीक्षक वीरबहादुर बोहराले कागज गरेको।
  • पीडितको कोठामा रक्सीको बोतल, गिलास तथा बदाम भएको प्लेट रहेको तथा चस्माको फ्रेम र जुत्ताको तलुवा समेत भेटिएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का, मौकामा बुझिएका उमा रेग्मी र अजयबाबु सिवाकोटी समेतका व्यक्तिहरूले पीडितले आफू जबरजस्ती करणीमा परेको कुरा बताएको भनि कागज गरेको।
  • घटना पश्चात् पीडित र प्रतिवादी महरा तथा महराका छोरा समेतबीच भएको एसएमएस संवाद र पीडितको शरिरका विभिन्न भागमा घाउ, चोट, नीलडाम समेत देखिएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका मिसिल प्रमाण।
  • ‘ती आधारबाट जाहेरवालाले प्रतिवादीले आफूलाई कुटपिट समेत गरी जबरजस्ती करणीको उद्योग गरेको भनी दिएको जाहेरी दरखास्त समर्थित हुन आएको समेतका तत्काल प्राप्त प्रमाणबाट हाल प्रतिवादी कसूरदार होइनन् भनि विश्वास गर्नुपर्ने अवस्था नदेखिएको’ इजलासको ठहर छ।

 

प्रतिक्रिया