बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका २ जना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ।
विशेष अदालतले मंगलबार चिकित्सकद्वय डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।
विशेषले उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।
ती चिकित्सकहरुले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका थिए। डा सिंह र डा रम्भा गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र निलम्बन गरिएको छ।
गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको थियो। त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए।
त्यसपछि बालिकाका पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ। सरकारी वकीलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो।
घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले चिकित्सक द्वयलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको थियो।
धनुषाको जनकनन्दनी गाउँपालिकामा आफ्नी काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेको समयमा २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए।
आमाको मृत्यु र बुबा रोजगारीका लागि भारत गएपछि काकीसँगै बस्दै आएकी बालिकाको बलात्कारको घटनापछि स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पताल पुर्यायाएको थियो।
अञ्चल अस्पतालले ११ दिनपछि दिएको उक्त रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय डा रम्भा गोइत र डा भिके सिंहले बालिकाको स्वास्थ्य परीक्षण गर्दा भेजिना र ह्युमेन दुबै नर्मल भएको रिपोर्ट दिएका थिए।
तर, पीडित पक्षले उक्त रिपोर्टमाथि चित्त नबुझाएपछि बालिकाको गत भदौ २५ गते जिल्ला अस्पताल सिराहामा पुनः स्वास्थ्य परीक्षण गरिएको थियो।
सिराहा जिल्ला अस्पतालका डा राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’ (टोकिएको), ‘भेजाइना कन्जेसन’ (योनीमा चोट) र ‘हाइमेन रप्चर्ड’ (योनिको झिल्ली च्यातिएको) देखाएको रिपोर्ट दिएका थिए।
बलात्कारको घटनापश्चात भारत भागेका आरोपित खत्वेलाई पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते पक्राउ गरेको थियो । अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकार गरिसकेका छन्।
खत्वेको सोही बयानका आधारमा बालिका बलात्कृत भएको सिराहा अस्पतालको रिपोर्ट र बलात्कृत नभएको जनकपुर अञ्चल अस्पतालको रिपोर्ट पेस गर्दै इलाका प्रहरी कार्यालयले गत ४ असोजमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरेको थियो।
प्रहरीसमक्ष खत्वेले बयान दिएको भिडियो क्लिप र अदालतमा समेत बलात्कार गरेको स्वीकार गरेपछि खत्वेलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो। उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।