बाटो निर्माणका लागि लिएको बेरुजु रकम हिसाब मिलान गर्न नमानेपछि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका एक वडाध्यक्षले सोही नगरपालिकाका प्रशासकीय अधिकृत सहित दुईजना कर्मचारीलाई कुटपिट गरेका छन्।
आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकले सोही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दलाई बुधबार साँझ कुटेका हुन् । वडाध्यक्ष बिकले प्रहार गरेको चेनले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा पाँच टाका लगाइएको छ । कुटपिटमा परेका सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।
कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा वडाध्यक्ष बिकले कुटेका हुन् ।
कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले कुटपिट गरेको दाबी गरे । आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजु देखिएपछि वडाध्यक्ष बिकले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई मिलाउन भनेका थिए । तर त्यो बेरुजु रकम मिलाउन नमानेपछि आफूमाथि कुटपिट भएको केसीले दाबी गरे। उनले सो नगरपालिकामा आफुलाई असुरक्षा भएको पनि गुनासो गरे। उनले त्यहाँ गएर काम गर्ने वातावरण नभएको भन्दै अन्यत्र सरुवा गरिदिनसमेत माग गरेका छन् ।
केसीले केशरमानकै योजनामा आफूमाथि आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि वडाध्यक्ष बिकलाई पक्राउ गरिएको र संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमका डीएसपी सुमित खड्काले जानकारी दिए ।
यस अघि सोही नगरपालिकाका एक इन्जिनियर पनि जनप्रतिनिधिबाट कुटिएका थिए ।