इथियोपियामा सैन्य विद्रोह : अंगरक्षकद्वारा प्रधान सेनापतिको गोली हानी हत्या

इथियोपियामा सैन्य विद्रोह : अंगरक्षकद्वारा प्रधान सेनापतिको गोली हानी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ असार २०७६
  • 7.2K
    Shares

इथियोपियामा भएको सैन्य बिद्रोह असफल भएको छ भने इथियोपियाका प्रधान सेनापति सियर मेकोनेनलाई उनकै अंगरक्षकले गोली हानी हत्या गरेका छन् ।

इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई सरकारले बिफल बनाएको जानकारी दिए । आक्रमणमा जिम्मेवार पक्षका बारेमा थाहा भइनसकेको पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

इथियोपियालाई स्थायित्व दिने र सुधारतर्फ अग्रसर गराउने प्रधानमन्त्री अहमदको योजनामा पछिल्लो घटनाले ठूलो चोट पु¥याएको छ । प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रो असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।

सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।

सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ ।  मुलुकका नौ वटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो रहनुका साथै यसको सीमा सुडानसँग जोडिएको छ । घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया