आफ्ना नेता दुर्गा तिवारीको हत्या भएको भन्दै आमहड्ताल, नाराजुलुस, बिरोध सभा गरेको एमाले समर्थित युवा संघ नेपालले आफ्नै नेता मरणासन्न हुने गरी कुटिंदा प्रेस विज्ञप्ति समेत ननिकालेको तथ्य फेला परेको छ । काठमाण्डुको पर्यटकीय क्षेत्र ठमेलमा शुक्रबार मध्यराति एमालेसमर्थित युवा संघ र कांग्रेस समर्थित तरुण दलका नाममा दुई समूहवीच ‘ग्याङ फाइट’ हुँदा युवा संघ नेपालका केन्द्रीय लेखा समिति सदस्य वकिल बम घाइते भएका थिए l तर त्यो घटनाको युवा संघले न त सार्बजनिक गर्यो न बिरोध नै l सो घटना सोह्रखुट्टे प्रहरी वृत्तमा पुगेपछि दुवै पक्षबिच् मिलापत्र भएको थियो l
तरुण दलका कार्यकर्ताद्वारा कुटाइ खाई अस्पताल भर्ना हुँदा पनि त्यसको बिरोध नहुनुको रहस्य भने अर्कै रहेछ l
ठमेलको नर्सिङचोकस्थित इबिजा लाउन्जका सञ्चालक समेत रहेका युवा संघका नेता वकिलबहादुर बमको समूह र फेसस लाउन्जका बाउन्सर कुबेर पौडेलको समूहवीच फाइट परेको प्रहरीले बतायो ।
प्रहरीले दिएको जानकारी अनुसार हाल फेसस लाउन्जमा कार्यरत पौडेल सात महिनाअघि इबिजाकै बाउन्सर थिए । पौडेलले आफूलाई अन्यायपूर्वक निकालिएको भन्दै शुक्रबार युवा संघका नेता बमसँग भनाभन गरेका थिए ।
यही निहुँमा राति करिब पौने २ बजे दुई समूहवीच हानाहान भएको सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरले बताए । १२ बजेदेखि नै विवाद भएको र राति पौडेल समूहले पौने २ बजे थप केटाहरु बोलाएपछि दुवै समूहवीच हानाहान भएको डीएसपी राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार झगडाका क्रममा युवा संघका नेता बमसहित अर्को समूहका दुईजना घाइते भएका थिए । बमलाई ढाडमा र अर्का समूहका दुईजनाको आँखामा चोट लागेको थियो । उनीहरु अस्पतालमा उपचार गराएर घर फर्किएका छन् ।
घटनापछि आफ्नो कार्यकर्ता बमलाई भेट्न युवा संघका अध्यक्ष राजीव पहारीसमेत अस्पताल पुगेका थिए । तर, युवा संघले आफ्नै नेता बम पिटिँदासमेत एउटा वक्तव्यसम्म निकालेन ।
राजनीतिक कारण नभई ‘हप्ता उठाउने’ विषयमा विवाद भई नेताले पिटाइ खाएको हुनाले वक्तव्य ननिकालिएको युवा संघका एक नेताले बताए ।
तरुण दलका नेता भन्छन् – हाम्रा केटाहरु पिटिए
कांग्रेसनिकट तरुण दलका नेताहरुको पनि जवाफ उस्तै खालको छ । एक तरुण नेताले भने- ‘यो झडपमा एमालेका हैन, हाम्रा केटाहरु चाँहि घाइते भएका छन् । तर, यिनीहरु युवा संघ र तरुण दलको नाम लिन्छन् र आपसमा ‘ग्याङ फाइट’ गर्छन्, जसले गर्दा हामीलाई समेत हैरानी भइसक्यो ।’
सोह्रखुट्टेका डीएसपी राठौरका अनुसार मध्यरातमा भएको झगडापछि तीनजनालाई प्रहरीले पक्राउसमेत गरेको थियो । तर, दबै समूहले आफूहरु मिल्ने भनेपछि प्रहरीले उनीहरुलाई छाडिएको छ ।