मधेसी नेतृत्वमा मनमुटाव

मधेसी नेतृत्वमा मनमुटाव


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ मंसिर २०७३
  • 10.1K
    Shares

नेपाली राजनीतिमा मधेश आन्दोलनको आयतन निरन्तर बढ्दो छ। तर, बेला–बेलामा हुने निर्वाचनमा मधेशी दलहरूको सिट संख्यामा अप्रत्याशित घटबढ हुने गर्छ। ०१० सालयता एकपछि अर्को मधेश आन्दोलन भए । हरेक आन्दोलन अघिल्लोभन्दा बलियो र शक्तिशाली देखियो। २०१३ सालमा तराई कांग्रेसले गरेको ‘सेभ हिन्दी’ नामक भाषा आन्दोलन, ०४२/०४३ देखि सुरु भएको सद्भावनाको नागरिकतालगायत आन्दोलनहरू, ०५२ पछि माओवादीहरूले गरेको मधेशी मुक्ती आन्दोलन, ०६३ को फोरमको विस्फोटक मधेशी आन्दोलन, ०६४ को मधेशी मोर्चाको आन्दोलन, ०७२ को ६ महिना लामो नाकाबन्दीसहितका आन्दोलन त्यसका प्रमाण हुन्।

तर, ०१५ सालमा भएको निर्वाचनमा तराई कांग्रेसले एक सिट पनि नजित्नु, ०४७ देखि ०५६ बीच सद्भावना पार्टीको सिट संख्या निरन्तर घट्दै जानु र ०६४ को तुलनामा ०७० मा मधेशी दलहरूको सिट संख्यामा ठूलो कमी आउनुले मधेशी राजनीतिमा केही गम्भीर समस्या रहेको बुझिन्छ। सडक आन्दोलनमा मधेशीहरूको सहभागिता बढ्दै जानु तर सदनमा मधेशी दलहरू निरन्तर कमजोर हुँदै गएको देखिन्छ। सिट संख्या बढ्नुको सट्टा किन घटेको छ त ?

कुनै पनि आन्दोलनका तीन पक्ष महत्वपूर्ण हुन्छन्। पहिलो एजेन्डा, दोस्रो संगठन र तेस्रो नेतृत्व। नेपालमा भएका विभिन्न आन्दोलनमा फरक–फरक पक्षले भूमिका खेलेको देखिन्छ। कहिले एजेन्डा, कहिले संगठन त कहिले नेतृत्वले। माओवादी जनयुद्धमा एजेन्डाभन्दा पनि नेतृत्व र संगठनले बढी भूमिका खेलेको थियो भने पञ्चायतविरुद्धको आन्दोलनमा पनि संगठनभन्दा बढी एजेन्डा र नेतृत्वको भूमिका महत्वपूर्ण थियो। मधेशी आन्दोलनहरूमा नेतृत्व र संगठनभन्दा एजेन्डा नै बढी प्रभावी रहेको देखिएको छ।

मधेशीहरूलाई नेपाली राज्यबाट हुँदै आएको संरचनागत तथा व्यावहारिक विभेद र पहाडी समाजबाट भएको सामाजिक दुव्र्यवहारबारे कसैले भनिराख्नु पर्दैन। सम्झना मात्रले मधेशी मन तरंगित भइहाल्दो रहेछ। मधेशी समाजको यो मनोवैज्ञानिक पक्ष मधेश आन्दोलनको सबैभन्दा ठूलो पूँजी रहेको छ। समाज जति–जति खुकुलो हुँदै गएको छ, सञ्चार जगत जति–जति विस्तारित हुँदै गएको छ, मधेशी समाजमा पनि चेतनाको स्तर त्यति नै विस्तार भएको पाइन्छ।

उपेन्द्र यादव र राजेन्द्र महतोबीचको टकराव मधेशको ‘मसिहा’ को बन्ने, को बढी लोकप्रिय हुनेसँग सम्बन्धित छ।

त्यसकारण हरेक आन्दोलनमा जनसमर्थन बढ्दै गएको हो। तर, मधेश आन्दोलनमा संगठन र नेतृत्व खासै मजबुत हुन सकेका छैनन्। लाग्छ, बलियो नेता र बलियो संगठन नहुँदा पनि आन्दोलनचाहिँ हुनसक्दो रहेछ। सायद दूरदर्शी नेताबिना बलियो संगठन हुँदो रहेनछ। जनसमर्थन वा कार्यकर्ताबिनाको संगठन नाम मात्रको हुने कुरा मधेशका अनेक स्वघोषित पार्टीहरूको चुनावअघिको घोषणा र पछिको अवस्था देख्दा थाहा हुन्छ। त्यसैले मधेशमा नेता र दलबीचको सम्बन्धको लेखाजोखा हुनु जरुरी छ।

मधेशी राजनीतिमा सक्रिय दलहरू खासै पुराना छैनन्। तराई कांग्रेसको अवशेष पनि बाँकी छैन। सद्भावना अनेक टुक्रामा विभाजित छ। ०६३ यता उदाएको फोरम पनि अनेक पटक खण्डिकरणबाट गुज्रियो। सबैभन्दा पछाडि जन्मेको तमलोपा पनि विभाजनबाट जोगिन सकेन। हाल जीवित रहेका कुनै पनि दल १० वर्षभन्दा पुराना छैनन्। मधेशी दलहरू औपचारिक नामभन्दा पनि कुनै खास नेताको पार्टीको रूपमा बढी चिनिएका छन्। कतै न कतै मधेशी दलको परिचयमा केही खास व्यक्तिको अहम् भूमिका देखिन्छ र उनैको नामको ‘प्राइभेट लिमिटेड’ बनेको देखिन्छ।

मधेशी दलहरूको विभाजनको समय र कारण नियाल्दा सत्ता फेरबदलको समयसँग ठ्याक्कै जोडिंदो रहेछ। सत्ता राजनीति विभाजनको एउटा प्रमुख देखि“दै आएको छ। सत्ताको कुरा आउनासाथ मन्त्री को बन्ने भन्ने कुरा महत्वपूर्ण हुँदोरहेछ। र, मन्त्री पद सत्ता सुख र राज्यको साधन, स्रोतमा पहुँचसँग सम्बन्धित रहेको हुनाले दलभित्र व्यक्तित्वको टकराव हुनु स्वाभाविक हो। मन्त्री को बन्ने प्रतिस्पर्धाबाट सुरु हुने नेताहरूबीचको व्यक्तित्वको टकराव अन्ततः दीर्घकालीन द्वन्द्वमा परिणत हुँदो रहेछ।

पछिल्लो समय खासगरी ०६४ यता मधेशी दलहरूबीच मोर्चाबन्दीको अभ्यास सुरु भएको हो। मोर्चाको भागमा पर्ने मन्त्रालयमध्ये कसले राम्रो र कसले अलिक कमजोर लिने विषयमा पार्टी–पार्टी वा त्यसका अध्यक्ष–अध्यक्षबीच प्रतिस्पर्धा हुने गरेको देखियो/सुनियो। समयसँगै त्यही मनमुटाव झाँगिएर बोलचालै नहुने अवस्थासम्म पुग्दोरहेछ। पछिल्लो समय मधेशमा को लोकप्रिय र को बढी क्रान्तिकारी देखिने होड चलेको छ, जसले नेता–नेताबीच प्रतिस्पर्धा बढाइदिएको छ।

कतै न कतै मधेशी दलको परिचयमा केही खास व्यकतिको अहम् भूमिका रहेको देखिन्छ र उनैको नामको प्राइभेट लिमिटेड बनेको देखिन्छ।

कतिपय सन्दर्भमा यस्तो प्रतिस्पर्धा बिल्कुलै अराजनैतिक खालको हुने गर्छ। सत्ताप्राप्तिको क्रममा मालदार मन्त्रालय पाउनका लागि प्रतिस्पर्धा हुनु नौलो कुरा हुँदैन तर गोलबद्घ भएर आन्दोलन र शक्ति आर्जन गर्नुपर्ने बेलामा पनि व्यक्तित्वको टकराव देखिनु बडो अनौठो लाग्छ। अहिले आएर फरक पार्टीका नेता भए पनि हृदयेश त्रिपाठी र राजेन्द्र महतोबीचको टकराव गजेन्द्रबाबुको सद्भावनाकालदेखिको हो, जसको जडमा नीतिगत मतभिन्नता होइन बरु आपूर्ति मन्त्रालय थियो।

अहिले आएर उपेन्द्र यादव र राजेन्द्र महतोबीचको टकराव मधेशको ‘मसिहा’ को बन्ने, को बढी लोकप्रिय हुनेसँग सम्बन्धित छ। राजेन्द्रजीलाई लाग्दो हो, सबैभन्दा पुरानो पार्टीको अध्यक्ष हुँ। यसपटकको आन्दोलनमा सबैभन्दा बढी खटेको पनि हुँ। उपेन्द्रजीलाई लाग्दो हो, एक त सांसद संख्यामा राजेन्द्रजी भन्दा पहिल्यैदेखि अगाडि, पहिलो मधेश आन्दोलनको त्यत्रो ठूलो मसिहाको पदवी पाएको, अहिले आएर अशोक राईजीसँग एकता पनि गरिसकेपछि पनि राजेन्द्र महतोलाई गन्नु ?

मलाई लाग्दछ, मधेशी दलहरूका नेताबीचको व्यक्तित्वको टकरावको अर्को कारण दलको निर्माण वा विकास क्रमसँग पनि जोडिएको छ। नेपालमा हामी दुईथरी दल देख्छौँ। पहिलो कांग्रेस, एमाले र माओवादीलगायत वामपन्थी दल छन् । अर्को खाले राप्रपा र मधेशी दलहरू। पहिलोखाले दलहरूको निर्माण एवं विकास प्रक्रिया दोस्रो खालेको निर्माण एवं विकासको प्रक्रियामा केही आधारभुत भिन्नता छ।

कहिलेकाहिँ बीपी यादव वा राजकिशोर यादवले आफुलाई उपेन्द्र यादवभन्दा कुनै अर्थमा कम ठान्दैनन्।

पहिलो खाले दलहरूले लामो कालखण्ड आन्दोलनमा बिताएका छन्। ती दलको गठन, लामो कठोर संघर्ष गर्दै संगठन निर्माण, पटक–पटकको आन्दोलनमार्फत राजनीतिक परिवर्तनको प्रयास, अन्तिम निणार्यक आन्दोलनको नेतृत्व वा त्यसमा नेतृत्वदायी भुमिका, त्यसपछि निर्वाचनमा सहभागिता र अन्त्यमा सत्ता यात्रा।

शायद यो लामो चक्रीय संघर्षको दौरान ती दलका भोटर, क्याडर र लिडरबीच एक फरक प्रकारको पार्टीगत साथै भावनात्मक सम्बन्ध बन्दो रहेछ। कांग्रेस, एमाले वा माओवादीमा त्यो कुरा झल्किन्छ। नेताहरूबीच जति नै चर्को विवाद भए पनि कार्यकर्ता वा दोस्रो तहका नेताहरूको गतिविधि र अभिव्यक्तिमा एक प्रकारको अनुशासन वा मर्यादा कायम रहन्छ।

तर, संघर्षको राजनीतिमा खासै समय नगुजारेका र खुला राजनीतिमा निर्वाचनको मुखमा खुलेका पार्टीहरूमा भोटर, क्याडर र लिडरबीच न त कुनै भावनात्मक सम्बन्ध बन्दो रहेछ, न त गहिरो पार्टीगत सम्बन्ध नै। त्यस्तोमा अपवादबाहेक कुनै पनि नेता/कार्यकर्तालाई आफ्नो पार्टीको नामसँग कुनै भावनात्मक लगाव हुँदो नरहेनछ, न त नेताप्रति श्रद्धा र सम्मान नै। यसकारण मधेशी दलका नेताहरू आफुलाई राजनीतिमा असुरुक्षित ठान्दा रहेछन्। संभवतः त्यही कारण नातेदारहरूलाई सभासदमा ल्याउँदा हुन्।

गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउबाबीच जति नै प्रतिस्पर्धा, टकराव रहेको बेलामा पनि दुवै नेता, तिनका पक्षका दोस्रो तहका नेता र कार्यकर्ताबीचको सार्वजनिक संवादमा मर्यादा कायम थियो। तर, राप्रपा वा मधेशी दलमा त्यो रहँदैन। कहिलेकाहि्ँ बीपी यादव वा राजकिशोर यादवले आफुलाई उपेन्द्र यादवभन्दा कुनै अर्थमा कम ठान्दैनन्। महेन्द्र यादवले पनि महन्थ ठाकुरलाई नेता नमान्नु संभवतः त्यही कारण हुनुपर्छ।

प्रतिक्रिया