‘लोकमानविरुद्धको महाअभियोग प्रस्ताव फेल भए सरकार नै ढल्नसक्छ: शेरबहादुर केसी, अध्यक्ष, नेपाल बार एसोसिएसन’

‘लोकमानविरुद्धको महाअभियोग प्रस्ताव फेल भए सरकार नै ढल्नसक्छ: शेरबहादुर केसी, अध्यक्ष, नेपाल बार एसोसिएसन’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ कार्तिक २०७३
  • 12.7K
    Shares

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव पारित हुन नसके सरकार नै ढल्न सक्ने बताएका छन्। केसीले भने,’यदि महाअभियोग प्रस्ताव फेल भयो भने सरकार नै फेल भए सरह हो, त्यसपछि प्रधानमन्त्रीले नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ।’

उनले महाअभियोग प्रस्तावलाई बारले इमान्दारिताका साथ हेरिरहेको भन्दै त्यो प्रस्ताव कसरी आयो भन्ने कुरा खोज्न पत्रकारहरुलाई आग्रह गरे। ‘हामीले यो प्रस्तावलाई इमान्दारिताका साथ हेरिरहेका छौँ, कार्की कार्यक्षमतामा असफल भएर प्रस्ताव आएको भए त्यो सकारात्मक हो,’ केसीले भने,‘अन्यथा दलहरुले जनतालाई जवाफ दिनैपर्ने हुन्छ।’

उनले अख्तियारलाई अझैं बलियो बनाउनुपर्ने पक्षमा नेपाल बार रहेको बताए। ‘सबैभन्दा भ्रष्टाचार हुने ठाउँ भनेको नेपालको क्याबिनेट हो, तर क्याबिनेटलाई कसैले प्रश्नै उठाउन नपाउने यस्तो पनि कहीँ हुन्छ?’ केसीले भने,‘सेना अनि पुलिसमा हुने भ्रष्टाचारलाई समेत अख्तियारले हेर्न पाउनेगरी अझैं बलियो संरचना बनाउनुपर्छ, बरु त्यसको लागि संविधान नै संशोधन गर्नुपर्छ।’

रिपोटर्स क्बल दाङले शनिबार गरेको साक्षात्कारमा अध्यक्ष केसीले महाअभियोग प्रस्तावमै अल्झिएर संविधान कार्यान्वयनका अरु कामहरुलाई नअल्झाउन पनि आग्रह गरे। ‘महाअभियोग प्रस्ताव संसदले हेर्ने हो, संविधानलाई क्रियाशिल बनाउनका लागि संसदले गर्नुपर्ने कामहरु पनि धेरै बाँकी छन्’ उनले भने ‘अब त्यही प्रक्रियामा अल्झिएर संविधानलाई कार्यान्वयन गर्ने कामहरु भुल्नुहुन्न।’

प्रतिक्रिया