यसकारण मिल्छ ​मोदी र प्रचण्डको केमेष्ट्री

यसकारण मिल्छ ​मोदी र प्रचण्डको केमेष्ट्री


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० भाद्र २०७३
  • 10.7K
    Shares

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रचण्डले एक भारतीय अखबारलाई अन्तर्वार्ता दिँदै भनेका छन् कि उनको र मोदीको केमेष्ट्री मिल्छ । प्रचण्डले आफूजस्तै मोदी पनि खतरा मोल्न चाहने र परम्पराभन्दा फरक ढंगले काम गर्ने नेता एवम् प्रधानमन्त्री भएको बताएका छन् ।

प्रचण्डले मोदीको प्रसंशा र आफ्नो आत्मप्रसंशा गर्दैै यो कुरा बताए पनि उनका कुरामा केही सत्यता अवश्य पनि रहेको देखिन्छ ।  मोदी भारतीय राजनीतिमा नयाँ आशासहित उदाएका नेता हुन् । प्रचण्ड पनि नेपालमा नयाँ आशासहित उदाएका नेता हुन् । प्रचण्डको आफ्नै वेबकुफीका कारण संविधानसभा(संसद)मा बहुमत पाउनबाट बञ्चित भए भने मोदीले भारतीय संसदमा बहुमत प्राप्त गरे । प्रचण्ड पहिलो संविधानसभामा मिश्रित चुनावी पद्धतिमा नलागी पहिलो हुनेले जित्ने पद्धतिमा लागेको भए स्वत: बहुमत आउने थियो ।

यो लगायत नमिलेका अन्य धेरै कुराहरु छन् यी दुईमा । तर प्रचण्डले भनेझैं यी दुई नेताहरुबीच धेरै केमेष्ट्री मिलेको देखिन्छ ।  प्रचण्ड गृहयुद्धका बीचबाट राजनीतिमा उदाएका हुन् भने मोदी पनि गुजरातको साम्प्रदायिक दंगाको बीचबाट उदाएका हु्न् । प्रचण्डले भनेझंै यी दुवै नेताहरु राजनीतिमा जे पनि गर्न पाइन्छ भन्ने सिद्धान्तका अनुयायी हुन् र यो भनेको फासीवादी दर्शन हो । यी दुबै रिस्क लिन माहिर खेलाडी हुन् । यी दुवैमा घमण्डको मात्रा पनि पराकाष्ठामा पुगेको बारम्वार देखिने गरेको छ । मोदीले संसदमा बहुमत पाउन सफल भएकोले उनको केन्द्रीय संसद र राष्ट्रिय राजनीतिमै अवनती देखिन केही समय लाग्ने छ ।

तर संसदमा चुनाव जिते पनि दिल्ली विधानसभामा भएको सर्मनाक हारले मोदीलाई सवक पनि सिकाइसकेको छ । साथै प्रचण्डलाई पनि दोस्रो संविधानसभाको चुनावमा भएको सर्मनाक हारले सवक सिकाइसकेको छ ।  सामान्यतया सबै नयाँ प्रधानमन्त्रीहरुले आफ्नो देशका लागि परम्परागत ढंगले भन्दा केही न केही फरक ढंगले काम गर्न खोज्ने नै हुन्छ । यस अर्थमा मोदी र प्रचण्डले पनि केही नयाँ ढंगले काम गर्न खोज्नु अस्वाभाविक होइन । तर यी दुबैले परम्परागत सत्ता मेशिनरीबाटै आफ्ना कथित नयाँ कामहरु गराउन खोजिरहेका छन्, जसले गर्दा उनीहरुले जतिसुकै गुलिया कुरा गर्न खोजेपनि परिणाम अपेक्षित रुपमा हात पार्न सक्ने सम्भावना कमै रहेको छ । यी दुवै नेताहरुका बीचको सवभन्दा महत्वपूर्ण समानता भनेको यी दुवैले आफ्ना देशका दलाल पूँजीपति, नोकरशाही पूँजीपति, सिन्डिकेट अर्थात् एकाधिकार पूँजीपति वर्गको प्रतिनिधित्व गर्दछन् ।

जसले गर्दा आर्थिक क्रान्तिका जतिसुकै चर्का कुराहरु यी दुवैले गरेपनि न त भारतमा मोदीले आमूल परिवर्तन हुने ढंगले आर्थिक क्रान्तिको शुरुवात गर्न सकेका छन्, न त नेपालमा प्रचण्डले नै  त्यसो गर्न सकेका छन् । केही मात्रात्मक सुधारवादी परिवर्तनका कोसिस भएकाछन् तर त्यो सम्भावनाका तुलनामा नगन्य छन् ।  भारत यस्तो देश हो जहाँ तीस करोडभन्दा बढी जनता गरिवीको रेखामुनि छन् । मोदीले उनीहरुका दर्दनाक समस्याहरुका समाधानमा खासै काम गरेका छैनन् । भारतमै दश लाखभन्दा धेरै करोडपतिहरु छन् र उनीहरु झन् झन् धनी बन्दैछन् । भारत नै यस्तो देश हो जहाँका  ऋण तिर्न नसकेर तथा गरिबीले गर्दा वर्षमा पन्ध्र हजार गरिब किसानहरुले आत्महत्या गर्छन् । वर्षमा विविध कारणले एक लाख पचास हजार भारतीय जनताले आत्महत्या गर्छन् । यसमा पनि मोदीले खासै केहीगर्न सकेका छैनन् ।

ग्लोबल हंगर इन्डेक्सका अनुसार २१ करोड भारतीय जनता भोकमरी र कुपोषण पीडित छन् । भारत भ्रष्टाचारग्रस्त देश हो । १५ हजार करोड भारु भ्रष्ट भारतीय ठुलाबडाले स्वीस बैंकहरुमा राखेका छन् भनिन्छ । यसतर्फ पनि मोदीले केहीगर्न सकेका छैनन् । ४६ हजार भारतीय जनता सर्पको टोकाइको औषधी नपाएर वर्षेनी मर्छन् । भारतीय अदालतमा ३ करोड मुद्दाहरु पेन्डिङ रहेका छन् । भारतमै वर्षेनी ३० हजार हत्याकाण्डहरु हुने गर्दछन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार भारतमा करिव २० लाख महिलाहरु वेश्यावृत्तिमा लाग्न बाध्य बनाइएका छन् । छोरी भ्रुण हत्याका कारणले गर्दा भारतमा पुरुष युवाहरुका तुलनामा ३ करोड महिलाहरु कमी भएको सरकारी तथ्यांक छ । भारतमै प्रत्येक वर्ष कम्तिमा पनि ८ हजार महिलाहरुलाई दाइजोका कारणले हत्या गरिन्छ । २४ लाख बालमजदुर भारतमै छन् । विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार भारतमा प्रत्येक वर्ष करिव ९० हजार जनता झाडापखालाबाट मर्छन् । भारतको यो दर्दनाक स्थिति परिवर्तन गर्न तीब्र गतिमा आमूल परिवर्तन गरिनु पर्ने धेरै कामहरु छन् तर मोदीका केवल गुलिया मीठा भाषणले यो सम्भव नरहेको त्यहाँका बौद्धिक समुदाय नै बताउन थालेका छन् ।

नेपालमा प्रचण्डको हालत पनि उस्तै छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेको बेला उनलाई जनताले अति आशावादी नजरले हेरेका थिए तर उनले त्यसमाथि विश्वासघात गरे । अहिले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि उनले दिएको पहिलो कार्यक्रमिक संसदीय सम्बोधनले केही सुधारवादी कुरा उठाएतापनि ती नेपाली जनताको आवश्यकताका तुलनामा हात्तीको मुखमा जिरा भएको छ । ती घोषणा गरिएका कामहरु पनि लागू गर्न प्रचण्डले सक्छन् वा सक्दैनन् भन्ने बहस चलिरहेकै छ ।  भारतमा केन्द्र तुलनात्मक रुपले स्थिर भएको छ तर प्रान्तहरुमा भने तीब्र अस्थिरता र तनाब बाँकी नै छ । काश्मिर समस्या मोदीले पनि हल गर्न सकेका छैनन् । यता प्रचण्डको हालत झन खराब हुँदैछ । उनले मधेश समस्या हल गर्नको लागि भारत भ्रमण गर्न लागेका छन् । उनले भारतीय नेताहरुसँगको एक्लाएक्लै हुने वार्तामा आफ्नो कुर्सी टिकाइदिन तथा मधेश समस्या हल गर्न सघाइदिन अनुरोध गर्ने तथा कयौं राष्ट्रघाती सहमति गर्न सक्ने आंकलन आफ्नै पार्टीका नेताहरुले गरिरहेका छन् ।

जसरी मोदीले चिनियाँ नेताहरुको विश्वास जित्न अझै सकेका छैनन् त्यसैगरी प्रचण्डले पनि चीनसँगको मैत्रीपूर्ण सम्बन्ध विकास गर्न अझै सकेका छैनन् । उल्टो प्रचण्डले चीनसँगका विगतका समझदारीहरुसमेत पनि बिगार्न लागेको आशंका गरिँदैछ । प्रचण्डको भारत भ्रमणमा के कस्ता खुल्ला तथा गोप्य सहमति हुनेछन् त्यसले प्रचण्डको राजनैतिक भविष्य निर्धारण हुन सक्नेछ । प्रचण्ड अहिले नेपाली देशभक्त जनता र भारतीय सत्ताधारीहरुको बीचमा परेका छन् र उनले दुबैतिरको मार खान पर्ने सम्भावनाबारे पनि चर्चा हुन थालेको छ । नेपाली देशभक्त जनता र भारतीय हेपाहा सत्ताधारीहरुबीचको संघर्ष अहिले यस्तो बिन्दुमा पुगेको छ जहाँ बीचको बाटो रहेको छैन । तर प्रचण्ड भने बीचको बाटो निकाल्छु भन्दै भारत यात्रामा जाँदैछन् ।

मोदीलाई भारतीय संसदमा बहुमत प्राप्त भएकोले अहिले केही गल्ती भएतापनि सच्याउने समय छ । तसर्थ मोदीले धेरै रिस्क अझै लिन सक्नेछन् तर प्रचण्डलाई नौ महिने म्यादी सरकारको नेतृत्व लिएकोले गर्दा त्यो खालको समय हुनेछैन । यस अर्थमा मोदी र प्रचण्डको केमेष्ट्री मिलेको छैन । तर मोदीभन्दा प्रचण्ड धेरै घमण्डी र मूर्ख छन् यस अर्थमा भने उनले धेरै रिस्क लिएर धेरै गम्भीर राष्ट्रघात गरी भारतीय शासकहरुलाई खुशी पार्ने प्रयत्न गर्न सक्ने सम्भावना भने अझै बाँकी छ ।

मोदी तथा उनका सल्लाहकारहरुले यस पटक पनि अहंकार देखाएर प्रचण्डलाई उपयोग गरी नेपाली जनताको इच्छा विपरीतका सन्धी सम्झौताहरु गर्न लगाए भने मोदी अझै फँस्दै जानेछन् । मोदीमाथि भारतमै छिमेकीहरुसँगको सम्बन्ध सुमधुर बनाउन नसकेको आरोप बढ्दैछ । नेपालसँगको सम्वन्ध राम्रो बनाउने या शत्रूतापूर्ण बनाउने भन्ने कुरा मोदीकै हातमा छ ।

प्रतिक्रिया