ओली र प्रचण्डको समाजवाद ‘पाजी समाजवाद’ : गोपाल किरांती

ओली र प्रचण्डको समाजवाद ‘पाजी समाजवाद’ : गोपाल किरांती


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०७५
  • 7.2K
    Shares

गोपाल किराँती

संघीय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन– ०७४ मा एमाले तथा प्रचण्ड समूहले समाजवादको तारा खसाल्ने गफ दिएको थियो । ‘समाजवाद खोजौँ’ तिनको नारा सो निर्वाचनमा खड्ग ओली र प्रचण्डका उम्मेदवारले नजिते समाजवाद आउनै नसक्ने जसरी प्रचार गरिएको थियो ।

तिनले कुर्लेका नारामा स्वयं उम्मेदवारको ज्ञान, नैतिकता र विश्वास कति थियो, मतदाताले भने तिनलाई भारी मत दिए । समाजवादको त्यस नाराभित्र खड्ग ओलीको गोर्खाली अन्धराष्ट्रवाद लुकेको थियो, जसलाई कथित राष्ट्रवाद नाम दिएर खुब बेचे ।

ओलीको गोर्खाली अन्धराष्ट्रवादमा प्रचण्डको आत्मसमर्पणवाद पनि त्यसवेला त्यत्तिकै बिक्यो । परन्तु निर्वाचनको वर्षदिन पुग्दा नेपाली जनताले प्रश्न गर्नैपर्छ– खोइ त समाजवाद ?

उत्पीडित वर्ग, जाति, क्षेत्र तथा महिला मुक्तिको वैचारिक हतियार माओवादी विज्ञान परित्याग गरेर प्रचण्ड समूह एमालेकृत संसद्वादी नेकपामा जसरी विलय भयो, वैज्ञानिक समाजवाद परित्याग गरेको मुख्य प्रमाण त्यही थियो ।

अझ निर्वाचनको मुखैमा खड्ग ओलीले आफ्नो पार्टी कम्युनिस्ट वा वाम पार्टी नभएको, प्रचण्डसँग मिलेर बन्ने पार्टी पनि कम्युनिस्ट नहुने तथा एकतापछि एमालेको नीति व्यवहारमा लागू गरिने जुन घोषणा गरे, त्यसले वैज्ञानिक समाजवाद त के, पुँजीवादी लोककल्याणकारी राज्यसम्म पनि दिन नसक्ने बताइसकेको हो ।

पुँजीवादी लोककल्याणकारी राज्यसम्म पनि दिन नसक्नुको अर्थ विद्यमान नेपालमा दलाल तथा नोकरशाही पुँजीको उत्पीडन थोपर्नु हो । निर्वाचन जितेपछि ओली र प्रचण्ड त्यही उत्पीडनकारी हर्कत गरिरहेका छन् । कम्युनिस्ट नामधारी सरकार यसरी नयाँ नेपालको सपनामा खग्रास ग्रहण लगाउँदै छ । संसद्मा ओली र प्रचण्डको उपस्थिति दुईतिहाइ पुग्छ ।

उपेन्द्र यादव पनि आफूलाई खाँटी समाजवादी बताउँछन् । तर, ओली–प्रचण्ड–यादव सरकारको नीति तथा कार्यक्रम र बजेटमा समाजवादी योजना किन आएन ? शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको मौलिक हक खोइ ? समाजवाद अभ्यास गर्न सरकारलाई कसले रोक्यो ?

खड्ग ओलीको भनाइमा कर्मचारीले नटेर्नु नै समाजवाद निर्माणको मुख्य समस्या हो ? त्यसो हो भने त्यस्ता अटेरी कर्मचारीलाई कारबाही गर्न किन हिचकिचाउनुप-यो ? राजनीतिक नेतृत्वले आफ्नो टप्परटुइयाँ कार्यशैलीको दोष कर्मचारीको थाप्लोमा हालेर उम्किन मिल्दैन ।

गृहमन्त्रीले जनपक्षीय सुधारका काम अघि बढाएका हुन् । मन्त्री बादलका ती काममा देखिने र सुनिने गरी खड्ग ओली र प्रचण्डले अंकुश लगाए । समाजवादको नारामा चुनाव जितेका सांसदलाई प्रश्न छ– ती जनपक्षीय काममाथि दमन गर्नाले समाजवाद आयो ?

पुरानै कामलाई सामाजिक सुरक्षाको नारामा कथित नयाँ युगको सुरुवात भन्दै ७० लाख सरकारी बजेट खर्चेर खड्ग ओलीको ठुल्ठूलो फोटो विज्ञापन गर्दैमा समाजवाद आउँछ ?

माओवादी विज्ञान भन्छ– विद्रोह जनताको अधिकार हो । नेकपा (माओवादी केन्द्र) ले प्रस्ट भाषामा भनेको छ– समाजवाद स्थापनाका लागि महान् जनविद्रोहको तयारीमा अघि बढौँ ! जनयुद्ध हुँदै फेब्रुअरी पुँजीवादी क्रान्तिसरह गणतन्त्र नेपालको संविधानसम्म आइपुग्दा नेपाली समाजमा दुईवटा ठूला उपलब्धि भए ।

त्यसमा पहिलो, राजनीतिक रूपमा पुँजीवादी गणतन्त्र स्थापना र दोस्रो, आमजनसमुदायमा राष्ट्रिय चेतना जागरण । उत्पीडित वर्गको समुदायमा राजनीतिक चेतना जागरण एक महान् उपलब्धि हो कि राज्यसत्ता नलिएसम्म त्यसले आराम गर्दैन । सामन्ती राजतन्त्रकालमा दबिएको जनताको चेतना आज सरकारसँग मागपत्र जाहेर गर्छ, आन्दोलन र धर्नामा उत्रन्छ ।

राउटेहरू राजधानी आएर प्रधानमन्त्रीलाई थर्काउँछन् । बादी महिला आफ्नो अधिकार सुनिश्चित नभए आफूसँग व्यभिचार गर्ने सरकारी हाकिमको नाम सार्वजनिक गर्ने चेतावनी दिन्छन् । गणतन्त्रयता दलित समुदायका नागरिकलाई कसैले पनि ‘शूद्र’ भनेर हेप्ने दुस्साहस गर्दैन ।

हिजोसम्म मधेसीलाई गैरनेपाली ठान्ने पहाडिया शासक आज मधेसी जनताको आन्दोलनबाट हायलकायल छन् । महिलाको स्वाभिमान उठेको छ र मानव हुनुको हैसियतमा पूर्ण समानुपातिक नेतृत्व प्रणाली माग गर्दै छन् । आदिवासी जनजाति र पश्चिम नेपालमा खसहरू राष्ट्रिय पहिचानका लागि विद्रोहको झन्डा उठाउँदै छन् । यो ऐतिहासिक महत्वको जागरण हो ।

सच्चा मार्क्सवादीका लागि समाजवाद त्यो अन्तरिम व्यवस्था हो, जसले साम्यवादको आधार निर्माण गर्छ । यसैलाई माक्र्सवादीहरू वैज्ञानिक समाजवाद भन्छन् । वैज्ञानिक समाजवादले नेपाली समाजको उत्पीडित वर्ग, जाति, क्षेत्र तथा महिलाको संयुक्त राज्यसत्ता स्थापना गर्नुपर्छ र साम्यवादको दिशामा अग्रसर हुनुपर्छ ।

समाजवाद भन्ने, तर साम्यवाद अर्थात् राज्यविहीन, वर्गविहीन, शोषण–उत्पीडनविहीन समाजतर्फ अग्रसर नहुने व्यवस्थालाई माक्र्सवादीहरू काल्पनिक समाजवाद ठान्छन् । काल्पनिक समाजवाद पुँजीवादको अर्को नाम हो ।

त्यसले मानव जातिको हित गर्दैन । यसर्थ उत्पीडित जनसमूहको राज्यसत्ता सुदृढ गर्न र साम्यवादतर्फ संक्रमणका निम्ति माक्र्सवादीहरू राज्यसत्तामा सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्छन् ।

लेनिनको शब्दमा ओली र प्रचण्डको समाजवाद ‘पाजी समाजवाद’ हो । ‘पाजी’ भनेको गधाको बच्चा हो, जसको प्रकृति गधाजस्तो देखिए पनि त्यसले खुट्टा टेक्न सक्दैन, धर्मराउँछ मात्र । अन्ततः त्यो गुटमुटिन्छ । नेपाली जनतालाई पाजी समाजवाद होइन, पूर्वजनमुक्ति सेनाकी मिरा राईजस्तै दौडने समाजवाद चाहिएको छ ।

प्रतिक्रिया