ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ असोज २०७५
  • 5K
    Shares

बनेपा – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना ४ त २८४० नं को ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सो घटनामा परी घाइते भएकामध्ये सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का ३५ वर्षीय जनग मन्सुर, सोही ठाउँका १६ वर्षीय फिरोज मन्सुर र २३ वर्षीय असरख मन्सुरलाई वीर अस्पतालमा रिफर गरिएको खड्काले जानकारी दिए ।

घाइते भएका जगागिर मन्सुर, नाजम मन्सुर र इकुन मन्सुरको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । ट्रयाक्टर चालक कासी मन्सुरसहित आठजना सवार थिए ।

चालक मन्सुर सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

सो समूह ट्रयाक्टरमा थोत्रो कपडा पेल्ने मेसिनसहित बोकेर सिरक, डस्ना बनाउने काम गर्दै हिँड्ने गरेका रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया