नेपाललाई धार्मिक युद्ध क्षेत्र बनाउने षड्यन्त्रमा कसको कति हात ? : रामुप्रसाद सुबेदी

नेपाललाई धार्मिक युद्ध क्षेत्र बनाउने षड्यन्त्रमा कसको कति हात ? : रामुप्रसाद सुबेदी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ बैशाख २०७५
  • 16.7K
    Shares

आजका समाचारपत्रिकाहरूमा मुख्य गरेर तीनवटा हेडिङ्ग चर्चित बनेका थिए – १. दाङ्मा प्रभुको राज्य २. काठमाडौंमा जागिर लगाइदिने प्रलोभनमा तीन जना महिलालाई प्रहरीले पक्रियो ३. श्रीनिवासले आफैंमाथि गोली चलाउन लगाएका हुन् । यी तीनवटै समाचार धर्मसित सम्बन्धित हुन् फरकफरक सम्प्रदायका । यी तीनवटै प्रतिनिधि खबर हुन् कि यो देश कता जाँदै छ भनेर ।
श्रीनिवासमाथि गोली चल्यो भनेर जताततै आक्रोश चलिरहँदा हामीले प्रहरी प्रशासनको छानबिनलाई पर्खिंदै संयम राख्न अनुरोध गरेका थियौं नै । आज पनि अझै भन्दै छौं कि यो समाचारको गहिराइ वा वास्तविक विश्लेषण अझै आउनै बाँकी छ । सुनतस्करहरूको जालो जति तान्यो उति तानिन्छ र तानिंदै जाने हो भने मन्त्रीसम्म तानिन्छन् त्यसरी नै यो घटनालाई पनि पूरै तान्ने हो भने रहस्य अरू नै प्रकट हुन्थे तर सबैजसो अपराध बीचैमा तुहाउने नेपाली चलन नै हो ।

यो देशको कानूनी प्रशासनमाथि अझै पूरा आस्था पलाइसक्ने अवस्था सिर्जना भइसकेको छैन । वीरेन्द्र राजा मारिए, ज्ञानेन्द्रदेखि दीपेन्द्रसम्म सबै पोलिए जबकि वास्तविकता कहिल्यै प्रकट हुन नसक्ने भयो । मदन भण्डारी मारिए, पालैपालो लामासहित धेरै मारिए, वास्तविकता जे हो त्यो गर्भमैं गयो, यसरी नै यो घटनामा पनि केही लामाहरू पोलिएका हुन पनि सक्छन् साँच्चै हुन पनि सक्छ, केही दिन अझै प्रतीक्षा गरौं ।
समान प्रकृतिका तीन घटनामा गुरूगम्भीर घटना कुन थियो भनेर कसले सोच्ने हो ? सबभन्दा राष्ट्रघाती घटना कुन हो ? भनेर कसले सोच्ने हो ? तर रमाइलो के भयो भने बरू कतिपय हिन्दूहरूले लज्जा महसुस गरे, कसैकसैले माफी पनि मागे कि विगतमा हामीले गलत बोलेछौं भनेर तर इसाई सम्प्रदायबाट कतै पनि क्षमा अथवा लज्जाको बोध नभएर बरू यसरी नै पक्रने हो भने वा हामीलाई प्रभुको राज्य घोषणा गर्न नदिएमा हामी अझै…….या वा आदि विविध तर्कहरू आए ।

विदेशीहरूको चलखेलका गोटी बन्ने, प्रभुको राज्य घोषण गरेर अरू सम्प्रदायका मान्छेलाई त्यो एरियामा बाँच्नै नदिने गरेर योजना कार्यान्वयन गर्दा कुनै लज्जाबोध नभएर गौरव हुने तर श्रीनिवासले लज्जाबोध गर्नुपर्ने समानताको सिद्धान्त हो कि हैन ? विज्ञहरूले नै सोचून्, छलफल गरून् । श्रीनिवासले राष्ट्रमा सामाजिक विग्रह पैदा होस् भन्ने नियत राख्नु र इसाईहरूले जागिरका प्रलोभनमा जबर्जस्ती कानून मिच्नु वा प्रभुको राज्यमा अरू सम्प्रदायलाई निषेध गर्नुमा कुन बढी अपराध हो, यसमा गहन छलफल हुन सक्छ र गर्नुपर्छ पनि ।

प्रभुको राज्यको टार्गेट अन्ततोगत्वा ढिलोचाँडो काश्मीर वा नागालैण्ड जस्तो वा कर्णाटकजस्तो आइसोलेटेड अरूलाई बाँच्नै नदिने वा कोरिया र पाकिस्तान झैं विखण्डनसम्मको लक्ष्यमा पुग्ने यात्रा हो । आज यौटा गाउँमा निषेधको अत्याचार छ भने भोलि जिल्ला हुँदै राज्यस्तरसम्म नपुग्ने सम्भावना हुन्छ र ? राज्य विखण्डनको नियत ठूलो अपराध हो या सामाजिक द्वन्द्व पैदा गर्ने नियत ठूलो अपराध हो ? सोचौं । श्रीनिवास एक हिन्दू भएको नाताले कारवाहीमा परे तर ईयुका दासहरू भएकोले कारवाहीमा नपर्ने ? हामी पुन: दाङ्को प्रभुको राज्य घोषित गाउँतिर सङ्केत गरिरहेका छौं ।

हाम्रो जिकिर यो हैन कि श्रीनिवास ठीक हुन्, हामी यो पनि भनिरहेका छैनौं कि कसैले अरू कुनै धर्म मान्न पाउन्न तर हाम्रो जिकिर यत्ति हो कि गाउँ नै आधार इलाका घोषित गरेर अरूलाई बाँच्न नदिने कुरा कुनै पनि हालतमा जायज हैन चाहे जेसुकै नाम दिइयोस् । श्रीनिवासले अरूको हत्या गरेका छैनन् र आत्महत्या वा स्वघोषित मृत्यु वा स्वेच्छिक शहीद हुन पाउनु कतिपय देशमा जायज नै मानिन्छ र हाम्रोमा आजसम्म त्यस्तोलाई ठीक वा बेठीक के भन्ने भनेर कुनै कानून पनि बनाइएको छैन । दुनियाँको पापका लागि तिनका जिजस मर्न हुन्छ भने नेपाली हिन्दूको पापका लागि श्रीनिवास पनि मर्न हुन्छ ।

कुनै सिद्धान्तको खोल ओढाएमा सत्र हजार मान्छे मारेको पनि जायज हुन्छ भनेर आजसम्म द्वन्द्वपीडित रोएका रोयै छन् भने बिना सिद्धान्त श्रीनिवासले गरेको क्रान्ति पनि जायज मान्नुपर्ने हुन्छ । धर्मनिरपेक्ष भनेको परम्परागत धर्मको संरक्षण पनि हो भनेर आफैंले संविधानमा अनुमोदन गर्ने तर त्यही उद्देश्यमा गोली खाँदा अपराधी पनि हुने ? श्रीनिवासलाई जस्तै प्रभुको राज्य घोषणा गर्नेलाई पनि समातेर कानून निष्पक्ष बनाऊ, लज्जाबोध सबै पक्षले गरौं हैन भने सिरियाको नियतिमा देश जाँदै छ भनेर ठोकुवासाथ भनौं । ताली एक हातले बज्दैन, दोहोरो चाहिन्छ । समृद्धिका कुरा गर्ने तर भौतिक विकासका बहसको सट्टा यस्ता बकम्फुसे विवादहरूमा दिन बिताउनुपर्ने दुर्भाग्य कसले सिर्जना गरेको छ ओली सरकारले तुरून्त खोजोस् । सबैको जय होस् ।

प्रतिक्रिया