युवालाई तीनमहिने व्यवसायीक तालिम दिएर स्वरोजगार बनाउने बजेटमा सीप विकास परियोजनाका कर्मचारीदेखि शिक्षामन्त्रीसम्मले अनियमितता गरेको पाइएको छ । ४५ हजार जनालाई बजारमुखी व्यवसायीक तालिम सन्चालन गर्न दातृ निकायको ऋण सहयोगमा यो परियोजना सन्चालन भएको हो ।
‘एसियाली विकास बैंकको २ करोड अमेरिकी डलर ऋण सहयोग र नेपाल सरकारको ५० लाख अमेरिकी डलर लगानीमा ५ वर्षअघि सुरु यो परियोजनामा गत वर्षको बजेटमामात्रै ६२ प्रतिशत रकम अनियमितता भएको पाइएको हो,’ आज कान्तिपुर दैनिकको समाचारमा लेखिएको छ ।
परियोजनाअन्तर्गत गत वर्ष ५८ करोड ६९ लाख बजेट निकासा भएको थियो । महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार ३२ करोड २६ लाख अनियमित खर्च भएको, ८७ लाख १५ हजार असुलउपर गर्नुपर्ने र २ करोड ८८ लाख रुपैयाँ आवश्यक प्रमाण र कागजपत्रबिनै भुक्तानी भएको देखिएको समाचारमा उल्लेख छ ।