नेपाललाई हवाई प्रवेश मार्ग दिन भारतद्वारा ढिलाई, नेपालले मागेका थप चार रुटमध्ये दुई दिन अस्वीकार

नेपाललाई हवाई प्रवेश मार्ग दिन भारतद्वारा ढिलाई, नेपालले मागेका थप चार रुटमध्ये दुई दिन अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ बैशाख २०७५
  • 9.5K
    Shares

विष्णु घिमिरे, बुटवल/अच्युत पुरी, काठमाडौं |

साढे चार वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन ।

नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ ।

पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबीच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो ।

अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध छ । नेपालबाट बाहिरिने बिन्दु भने ५ वटा छन् । चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन सकेको छैन ।

नेपालले मागेका थप चार रुट

नेपालले थप चार प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको छ । सिमराबाहेक विराटनगर, जनकपुर, नेपालगन्ज र महेन्द्रनगरबाट पनि जहाज भित्रन सक्ने गरी प्रवेश बिन्दु मागेको छ । भैरहवा तथा नेपालगन्ज आसपासको भारतीय आकाशमा भारतीय एयरफोर्सका जहाज उड्ने भएकाले व्यावसायिक उडानका जहाजलाई प्रवेश मार्ग दिन नसकिने भारतले स्पष्ट पारेको छ । विराटनगर वा जनकपुरमध्ये एक र महेन्द्रनगरका विषयमा भने छलफल गर्न ऊ सहमत छ ।

किन चाहिएको छ नेपाललाई थप प्रवेश मार्ग ?

नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । भारतीय आकाश प्रयोग गरी नेपाल आउने धेरैजसो मुलुकका जहाजलाई सिमराबाट प्रवेश गरी काठमाडौं आउँदा प्राविधिक रूपमा उपयुक्त देखिएपछि प्रारम्भबाटै यो मार्ग प्रयोगमा आएको प्राधिकरणका उच्च अधिकारीहरू बताउँछन् ।

त्यसपछि नेपाल र भारतबीचको हवाईसेवा सम्झौताबाटै यो रुट स्थापित गरियो । तर, नेपालले काठमाडौंबाहिर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको छ ।

यी विमानस्थलमा नेपालको महेन्द्रनगर या नेपालगन्ज क्षेत्रबाट आउने जहाज सिमरा पुगेर पुनः भैरहवा घुम्नुपर्दा कम्तीमा २० मिनेट बढी समय लाग्ने अनुमान प्राधिकरणको छ ।

यसबाहेक पोखरामा अझ बढी समय लाग्ने अनुमान छ । त्यसकारण यी विमानस्थल सञ्चालनमा आएपछि सेवा महँगो नपरोस् भनी थप प्रवेश बिन्दु मागिएको हो । प्राधिकरणका महानिर्देशक गौतमका अनुसार पूर्वी क्षेत्रबाट आउने जहाजका लागि भने सिमरा नै उपयुक्त प्रवेश बिन्दु हो ।

 

प्रतिक्रिया