नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् ।
स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल्क असुलिरहेका हुन् । अधिकांश नाम चलेका र ठूला भनिएका स्कुलले भर्ना शुल्क आधा लाख रुपैयाँको हाराहारीमा असुली रहेका छन् ।
काठमाडौ.मा रहेको पाठसाला स्कुलले कक्षा १ मा नयाँ भर्नाका लागि ८८ हजार रुपैयाँ शुल्क तोकेको छ ।पाठशालाले कक्षा १ को शिक्षण शुल्क ९ हजार मासिक र मासिक शुल्क १३ हजार रुपैयाँ लिने निर्णय गरेको छ । काठमाडौं धापासीमा रहेको त्रियोग स्कुलले केजी तहमा भर्ना गर्दा एकमुष्ट ७१ हजार १ सय ७३ रुपैयाँ लिन्छ । सो तहमा शिक्षण शुल्क २ हजार ३ सय ६३ र मासिक शुल्क ९ हजार १ सय २० तोकिएको छ ।
विद्यार्थी तान्न ब्रान्ड चोरी
निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ । विद्यार्थी तान्न अर्काको ब्रान्ड चोरेर विद्यालय खोल्दा पहिले नै चिनिएका स्कुल मारमा पर्छन् नै, विद्यार्थी र परीक्षार्थीसमेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन हो भनेर दोधारमा पर्ने गरेको अन्नपूर्णमा समाचार छ ।
अन्नपूर्णका अनुसार महाराजगञ्जमा काठमाडौं भ्याली स्कुलको नाम चोरेर छाउनीमा अर्को काठमाडौं भ्याली स्कुल स्थापना भएको छ । दूरीका हिसाबले लामो भए पनि एउटा जिल्लामा पुरानो स्कुल सञ्चालनमा रहेका बेला त्यही नामको नयाँ स्कुल खोलिदिएको छ ।