कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्न ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ । संसदीय दलको निर्वाचनका लागि गठित निर्वाचन समितिको शुक्रबारको बैठकले सो शुल्क तोकेको हो । २१ फागुनका लागि तय भएको निर्वाचन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको हो ।
समितिका सदस्य नवीन्द्रराज जोशीले दलको नेताका लागि उम्मेदवारी दर्ताबापत ४१ हजार रुपैयाँ शुल्क तोकिएको बताए । ‘२१ गते हुने संसदीय दलको निर्वाचनका लागि दलको नेताका लागि उम्मेदवारी शुल्क ४१ हजार रुपैयाँ तोकिएको हो,’ नेता जोशीले भने । समितिले शुक्रबार नै निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यतालिकानुसार २० फागुनका दिन दिउँसो साढे ४ बजे मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन नामावलीमा नाम छुट भएको वा नामावलीमाथि दाबीविरोध वा नाम सच्याउन ५ बजेसम्मको समय तोकिएको छ भने साढे ५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ ।
यस्तै, साँझ ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीका लागि दरखास्त दिन सकिनेछ । लगत्तै पौने ८ बजे उम्मेदवारहरूको प्रथमपटक नाम सार्वजनिक हुने छ भने ८ बजेसम्म उम्मेदवारको नाममाथि दाबी विरोधका लागि समय दिइएको छ ।
सोही दिन सवा ८ बजे जाँचबुझपछि उम्मेदवारको नाम दोस्रोपटक सार्वजनिक हुनेछ भने २१ गते बिहान सवा ८ बजेसम्म उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ । यसैगरी, उम्मेदवारको अन्तिम नाम २१ गते साढे ८ बजे प्रकाशित हुनेछ भने सोही दिन १० बजेबाट १ बजेसम्म मतदान हुनेछ ।
दलको नेता चयनका लागि कांग्रेसले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङदेम्बे र जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।
सहमतिबाटै देउवा दलको नेता , सिंहलाई उपनेता बनाउन प्रस्ताव
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु भएको छ । दलको नेताका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत दाबी गरिरहेका बेला उनलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षीय नेताहरू सभापतिलाई नै सहमतिबाटै नेता बनाउनेगरी तयारीमा लागेका हुन् ।
शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेतामा देउवालाई नै सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेका हुन् ।
उनीहरूले नेता पौडेलसँग पार्टीले संकटको सामना गरिरहेका बखत एकताको जरुरी रहेको र एकताको सन्देश दिनका लागिसमेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उपनेता सिंहलाई बनाउनेगरी मनाउन आग्रह गरेका छन् । छलफलमा सहभागी नेता श्रेष्ठले पार्टीले संकटको सामना गरिरहेकाले आफूले सहमति गरेरै अघि बढ्न नेता पौडेलसँग प्रस्ताव गरेको बताए ।
‘मैले सभापतिलाई नै दलको नेता बनाएर एकताको सन्देश दिनुपर्छ त्यसका लागि उपनेता प्रकाशमानजीलाई नै बनाऔं, कार्यसमितिका अरू पदमा समेत सल्लाह गरेर नै निर्णय गरौंला भन्ने प्रस्ताव गरेको हुँ, उहाँ सकरात्मक हुनुन्छ,’ नेता श्रेष्ठले भने ।
यस्तै, नेता लेखकले समेत दलको नेताका लागि सहमतिको विकल्प नभएको भन्दै सहमति गरेरै अघि बढ्ने विषयमा कुराकानी भएको बताए ।‘सहमतिबाटै दलको नेता चुन्ने भन्ने विषयमा छलफल भएको छ, बाँकी विषय सहमतिबाटै मिलाउँला भन्ने हो, अन्य विषयमा फेरि छलफल हुन्छ,’ नेता लेखकले भने ।
दुवै नेताले वरिष्ठ नेता पौडेलसँगको छलफलमा निर्वाचनमार्फत पराजय भोगेका बेला आन्तरिक रूपमा नै हारजितको कुरा हुँदा राम्रो सन्देश नजाने र एकताका लागि पनि सहमतिको पहल गर्नुपर्नेमा जोड दिएको जानकारी दिएका हुन् ।
@राजधानी