घूस बाँडफाँट नमिल्दा मालपोत र नापी कार्यालयका कर्मचारीबीच कुटाकुट !

घूस बाँडफाँट नमिल्दा मालपोत र नापी कार्यालयका कर्मचारीबीच कुटाकुट !


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ फाल्गुन २०७४
  • 9.7K
    Shares

हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भउको छ । कुटाकुटमा १ जना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ ।

कान्तिपुर दैनिकको  समाचार अनुसार बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो’, कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले कान्तिपुरसँग भनेका छन्, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवा गरेका थिए ।’

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीको बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । समाचार अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँबर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को–को हुन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया