राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तराई–मधेसमा झरे दुर्व्यवहार हुने चेतावनी दिएका छन् । शुक्रबार रिर्पोटर्स क्लबमा बोल्दै नेता सुमानले संविधान नै विभेदपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री मधेस झर्दा अफ्ठेरो पर्ने बताएका हुन ।
संविधान नै विभेदपूर्ण रहेकाले पहिले यसलाई संशोधन गर्नुपर्नेमा अडानमा आफूहरु रहेको उनको भनाई थियो । ‘राजपा र फोरम दुवै मधेसका स्टेकहोल्डर हुन्, त्यसैले उपेन्द्र यादवले २ बुँदे वा २० बुँदे जे गरेपनि फरक पर्दैन’, उनले भने, ‘या यो सरकारको पुरै शक्ति लगाए पनि संविधान संशोधन नहुन्जेल मधेसमा उपस्थिति हुँदैन ।’
आफूहरुसँग केन्द्रीय सरकारमा जाने जनमत नभएकाले अहिले त्यतातिर बल नगरेको उनले स्पष्ट पारेका छन् । ‘फोरम र राजपा सँगै मिलेर चुनाव लडेकोले जनताले त्यही अनुसारको म्याण्डेट दिए’, उनले भने, ‘हामीलाई मिलेर प्रदेश सरकार चलाउने जनमत दिएका छन्, त्यसैले राजपाले केन्द्रिय राज्यसत्तामा बल गरेको छैन ।’
सुमनले आफूहरुसँग अहिले सरकारले आफूहरुसँग गम्भीर वार्ता नगरेको पनि गुनासो पोखे । ‘हामीसँग खासै त्यस्तो गम्भिर वार्ता भएको छैन’, उनले भने ।
सुमनले आफूहरुले खोजेको भनेको नै संविधान संशोधन गर्नु भएकोले केन्द्रीय सरकारमा जानेबारे कुनै हतारो नगरेको स्पष्ट पारे । यद्यपि उनले फोरम नेपालले सरकारमा जानको लागि हतारो गरेको आरोप लगाए ।
उपेन्द्र यादवलाई मधेशको विद्वानको संज्ञा दिँदै उनले ठीक ठीक ढंगले संविधान संशोधन गर्न पहल गर्न सुझाव दिए ।‘संविधानलाई मधेशमैत्री बनाउनुपर्छ, अब ओली सुध्रिएलान भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन’, उनले भने ।अन्नपूर्ण पोष्ट बाट