श्याम खतिवडा दोलखा l
सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार दोलखामा बन्न लागेको अन्तराष्ट्रिय चलचित्र नगरीको शिलान्यास गरेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले राजिनामा दिएपछि शिलान्यास गर्दागर्दै उनको मन्त्री पद भने खुस्किसकेको थियो ।
चलचित्र विकास बोर्डको आयोजनामा भएको शिलान्यास कार्यक्रममा सहभागी हुन मन्त्री बस्नेत बिहिबार दोलखाको खरिढुंगा पुगेका थिए ।
१५ सय रोपनी क्षेत्रफलमा बन्न लागेको चलचित्र नगरी फिल्म सिटीको शिलान्यासका लागि खरिढुंगा स्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फिल्म सिटी अन्यत्र सार्न विभिन्न शक्तिहरु सकृय रहेको भन्दै सरकारले तत्कालै लाहाछाप लगाएर जसरी पनि दोलखामै बन्नुपर्छ भन्ने शन्देस दिन खोजेको बताएका छन् ।
चलचित्र नगरी निर्माण भएपछि दोलखा र सिन्धुपाल्चोकको पर्यटकिय विकास हुनका साथै आर्थिक सम्बृदिका लागि कोसेढुंगा सावित हुने बताउदै मन्त्री बस्नेतले आफु सञ्चारमन्त्री भएकै बेला आवश्यक सबै प्रक्रिया सुरु गरेको भन्दै तत्काल निर्माण कार्य सुरु हुने बताएका छन् ।
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बस्नेतले पिल्म सिटी आयोजना प्रवेश मार्गमा राखिएको हाडिङ बोर्डमा छोपिएको कपडा झिकेर सार्वजनिक गरेका थिए ।
लामोसाँघु जिरी सडकखण्डको खरिढुंगाबाट ६ किलोमिटर माथि रहेको फिल्म सिटी आयोजना स्थल डाङ्डुङे पुगेर मन्त्री बस्नेतले जगमा इटा राखेर शिलान्यास गरेका हुन् ।
लामो समयदेखि दोलखामा फिल्म सिटी बन्नुपर्छ भन्दै अभियानमा सक्रिय रहेका बरिष्ठ कलाकार मदनदास श्रेष्ठले फिल्म सिटी बन्नेमा संका नगर्न आग्रह समेत गरेका छन् ।
उनले चलचित्र नगरी निर्माण आयोजना राष्ट्रिय गौरबको आयोजना भएकाले समयमा सम्पन्न गर्न सबै क्षेत्रका नागरिकहरुलाई आग्रह गरे ।
अन्तराष्ट्रिय महत्व समेत रहेको चलचित्र नगरी शिलान्यास कार्यक्रममा दोलखा र सिन्धुपाल्चोक दुबै जिल्लाका सांसदहरु उपस्थित भएका थिएनन् तर उनिहरुले आफु आउन नसकेको भन्दै शुभकामना शन्देश पठाएको बताइएको छ ।
प्रधानमन्त्रीले राजिनामा दिएर नयाँ प्रधानमन्त्री नियुक्त भैसकेको भन्दै मन्त्री बस्नेत समेत निवर्तमान भएकाले आयोजकहरु बिच पनि केहीबेर परामर्ष भएको थियो । तर चलचित्र विकास वोर्डका कर्मचारी र पत्रकारहरुले अर्को सरकारका मन्त्रीहरुले सपथ नलिन्जेलसम्म बस्नेत नै मन्त्री हुने भनेपछि आयोजकले कार्यक्रम अगाडी बढाएको थियो ।