तरकारीको मूल्य वृद्धि भई उपभोक्ता ठगिएका र बिचौलियाहरूले तरकारीको मूल्य अस्वभाविक रूपमा बढाएका बेला कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले भने आफैं शुक्रबार तरकारी बजारको अनुगमन गरेको छ ।
समितिको मिलेमतोमा नै तरकारी व्यवसायी र बिचौलियाहरूले तरकारीमा उपभोक्ताको ढाड सेक्ने काम गरेका र विचौलियाहरूसँगको मिलेमतो ढाकछोप गर्नकै लागि तरकारी बजार अनुगमन गर्नमा समिति आफैं जुटेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले आफ्नै मातहतमा रहेको बजारको ठगी ढाकछोप गर्न र अनुगमनकारी निकायको हस्तक्षेप रोक्न समितिले तरकारी बजारको अनुगमनमा आफैं जुटेको आरोप लगाए ।
बजारमा तरकारीको आपूर्ति सहजीकरण होस् र सिन्डिकेट तथा कार्टेलिङमा कमी ल्याउनका लागि सरकारले का
तरकारी बजार
लीमाटी फलफूल तथा तरकारी बजार समिति गठन गरेको हो तर उल्टै समितिले समेत बिचौलियाहरूसँग मिलेमतो गरी तरकारीको मूल्यमा उपभोक्ताको ढाड सेक्ने काम भइरहेको उनले बताए । अध्यक्ष तिमिल्सिनाले तरकारीको मूल्यमा उपभोक्ताको ढाड सेक्ने काम भइरहेकाले त्यसको अनुगमन गर्न सम्बन्धित निकाय नै सक्रिय हुनुपर्ने बताए । उनले तरकारी बजार व्यवस्थापन समितिले आफैं बजार अनुगमनमा गएर कुनै सुधार हुन नसक्ने र त्यसको सुधारका लागि अनुगमनकारी सम्बन्धित निकायले नै सक्रिय हुनुपर्ने तिमिल्सिनाको भनाइ थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले शुक्रबार आफ्नै मातहतमा तरकारी बजार अनुगमन गरे पनि त्यसमा कुनै कैफियत भने भेटिएन । कुनै कैफियत पत्ता लगाउन नसकेकोप्रति लक्षित गर्दै उपभोक्ताकर्मीहरूले व्यवसायीलाई हामी अनुमगनमा आउँदै छौं भनेर पहिले नै सर्तक रहन सचेत गराएको हुनुपर्ने टिप्पणी गरे ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले तरकारीको मूल्य उतारचढाव हुनुमा तरकारी बजार विकास समितिको कुनै भूमिका नरहने समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले बताए । उनले बजारमा माग र आपूर्तिको आधारमा तरकारीको मूल्यमा आफैं उतारचढाव आउने गरेकाले त्यसमा समितिको कुनै भूमिका नहुने दाबी गरे । पछिल्लो समय तरकारीको माग उच्च रहेकाले तरकारीको मूल्यमा केही वृद्धि भएको समितिका अधिकारीहरूको भनाइ थियो । त्यस्तै समितिका अध्यक्षसमेत रहेका कृषि विकास मन्त्रालयका सह सचिव काशीराज दाहालले बिचौलियाका कारण तरकारीको मूल्यमा वृद्धि भएको भन्ने कुरा केही हदसम्म साँचो भएको भन्दै त्यसका लागि सरकारले बेलाबखत अनुगमन गरिरहेको दाबी गरे ।
त्यस्तै, समितिले तरकारीमा हुने विषादीको मात्रामा पछिल्लो समय कमी आएको बताएको छ । समितिले बाली संरक्षण निर्देशनालयसँगको सहकार्यमा तरकारीमा विषादीको मात्रा जाँच गरेको र त्यसको प्रतिवेदनले तरकारीमा हुने विषादीको मात्रामा कमी आएको निष्कर्ष निकालेको हो । चालू आर्थिक वर्षको पुस महिनासम्ममा कुल ९३० नमुनामा गरिएको तरकारीको विषादी परीक्षणमा तीनवटा मात्रै खान अयोग्य रहेको र ९२७ वटा नमुना खान योग्य रहेको निष्कर्ष निकालेको हो । गत आर्थिक वर्षमा कुल १ हजार ९३० तरकारीका नमुनामा विषादी परीक्षण गरिएको र त्यसमध्ये १ हजार ९०३ खान योग्य रहेको पाइएको थियो । २२ वटा नमुना खान अयोग्य भए पनि पाँचवटा नमुना दुई÷तीन दिनसम्म राखेर खान योग्य हुने निस्केका थिए ।