कालिकोट घटनामा म्यादीको मृत्युमा नेकपा जिम्मेवार रहेको गृह मन्त्रालयको निष्कर्ष

कालिकोट घटनामा म्यादीको मृत्युमा नेकपा जिम्मेवार रहेको गृह मन्त्रालयको निष्कर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ पुष २०७४
  • 8.5K
    Shares

टपेन्द्र कार्की / काठमाडौं

दुई साताअघि कालिकोटमा भएको म्यादी प्रहरीको आन्दोलनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घुसपैठ भएको निष्कर्ष निकालिएको छ ।  सो घटनाको छानबिन गर्न बनेको समितिले नेकपाको घुसपैठ भएपछि दोहोरो झडप भएका कारण गोली चलेको ठहर गरेको हो ।

म्यादी प्रहरीको आन्दोलनमा नेकपाको सहयोगकै कारण म्यादीले प्रहरीमाथि आक्रमण गरेको र प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको समितिको ठहर छ ।

तलबभत्ताको विषयलाई लिएर आन्दोलनमा उत्रेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा म्यादी प्रहरी ऐडीको मृत्यु भएको थियो । आन्दोलनका क्रममा म्यादी प्रहरीलाई स्थानीय नेकपाका कार्यकर्ताले हौसाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले आइतबार गृहसचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनमा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको उल्लेख गरिएको छ । स्रोतका अनुसार कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोरालाई सामान्य चेतावनी र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई पनि सामान्य विभागीय कारबाही सिफारिस गरिएको छ । ‘कालिकोट घटनाको प्रतिवेदन आइतबार सचिवलाई बुझाइएको छ, यसभित्र केके छ अहिले नै भन्न मिल्ने अवस्था छैन,’ गृहमन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले भने ।

मन्त्रालयका सहसचिव डा. मानबहादुर विश्वकर्मा संयोजकत्वको छानबिन समितिले आइतबार गृहसचिव सापकोटालाई रिपोर्ट बुझाएको हो । रिपोर्टमा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु प्रहरीको गोलीबाटै भएको उल्लेख गरिएको छ ।म्यादी प्रहरीले तलबभत्ताको सम्बन्धमा उठाएको विवादसँगै हिंसात्मक आन्दोलन तथा आन्दोलनका क्रममा अकालमै ज्यान गुमाउने म्यादी प्रहरी विवेक ऐडी र अन्य घाइतेहरूको विषयमा छानबिन समितिले जानकारी लिएको थियो । छानबिन समितिका सदस्य प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रवीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ थिए ।
गृह मन्त्रालयले मृतक ऐडीको परिवारलाई क्षतिपूर्तिस्वरूप १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुका साथै अन्य घाइतेको निःशुल्क उपचारको व्यवस्था गरेको थियो । म्यादी प्रहरीको तलब र भत्ताको सम्बन्धमा समयमै स्पष्ट जानकारी दिन नसक्दा यस्तो दुर्घटना भएको जनाइएको छ । म्यादी प्रहरीहरूले आफूहरूलाई थोरै तलब दिएको भन्दै आन्दोलन गरेका थिए । तर छानबिन समितिको अनुसन्धानमा सबैले सरकारले तोकेअनुसार नै तलब र रासनभत्ता पाएको उल्लेख छ ।
जिल्लाअनुसार नै रासनभत्ता फरक पर्ने भएकाले त्यही हल्लाका आधारमा आफूहरूलाई कम दिइएको भन्दै उनीहरूले आन्दोलन गरेका थिए । जसक्रममा प्रहरी र म्यादी प्रहरीबीच आन्दोलन हुँदा ७ पुसमा म्यादी प्रहरी ऐडी प्रहरी गोलीबाट मारिएका थिए । सबै म्यादी प्रहरी खुसीखुसी बिदाइ भएकामा केही घण्टामै उनीहरू पुनः प्रहरी कार्यालयमा ढुंगा हान्दै प्रहरीविरुद्ध नाराबाजीमा उत्रिएका थिए । म्यादी प्रहरीको मृत्युपछि पनि तीन दिनसम्म जिल्लामा बन्द र आन्दोलन भएको थियो ।
सो घटनामा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच समन्वय अभाव देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्रोतका अनुसार आन्दोलनकारीले प्रहरी बिट जलाउँदा पनि राम्रोसँग प्रहरी परिचालन गर्न नसक्नुले प्रमुख जिल्ला अधिकारी र डीएसपीको कमजोरी रहेको ठहर गरिएको छ । स्रोतका अनुसार डीएसपी सुवासचन्द्र बोहोरालाई सचेत गराउन सिफारिस गरिएको छ भने सीडीओ बद्रीनाथ गैरेको कार्यक्षमतामा प्रश्न उठाइएको छ । Source rajdhani

प्रतिक्रिया