एमाले र माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले दुवै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् । एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादीले भन्दै आएको ‘माओवाद’ को सिद्धान्त तत्कालका लागि थाती राखेर नयाँ सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव हुने उनको धारणा छ।
‘माओवादीले जबज मान्नुपर्छ भन्ने अडानमा एमाले र एमालेले माओवाद स्वीकार्नुपर्छ भन्नेमा माओवादी रहेसम्म पार्टी एकता हुन सक्दैन,’ नेपाल अध्ययन केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित ‘वामपन्थी एकताको आधार’ विषयक बहसमा माओवादी नेता श्रेष्ठले भने, ‘माओवाद र जबज दुवैलाई अहिले ड्रप गरेर जानुपर्छ।’ उनले दुवै दलले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मानेकाले त्यसलाई मूल आधार मानेर नयाँ परिवेशअनुसार कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक बाटो तय गर्नुपर्ने औंल्याए। एमालेले अपनाउँदै आएको जबजको सिद्धान्तको मूल आशय लोकतान्त्रिक विधि र शान्तिपूर्ण तबरबाट राज्यसत्तामा पुग्नुपर्छ भन्ने हो। माओवादी सिद्धान्तको मूल आशय राज्यसत्तामा पुग्न बल पनि प्रयोग गर्नुपर्छ र आवश्यक पर्दा सशस्त्र आन्दोलनमा जानुपर्छ भन्ने हो। माओवादी पनि अब शान्तिपूर्ण राजनीतिको बाटोमा आइसकेको छ। उसले लोकतान्त्रिक प्रतिस्पर्धाबाटै आफ्नो राजनीति स्थापित गरिसकेको छ।
नेता श्रेष्ठले ‘जनयुद्ध’ र ‘जनआन्दोलन’ ले नेपालमा गणतन्त्र र संघीयता ल्याएको भन्नेमा दुवै दल सहमत भएकाले यही विन्दुलाई एउटा आधार मानेर संविधानअनुसार बनेपछि समाजवादउन्मुख कार्यक्रम सञ्चालन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने धारणा राखे। ‘अब हाम्रा लागि माओवाद र जबज भन्ने कुरा गौण भइसक्यो,’ नेता श्रेष्ठले भने, ‘जबज र माओवादबाट शिक्षा लिँदै अघि बढ्ने हो, मतभेदका कुरा केही रहे भने त्यसलाई थाती राख्दै महाधिवेशनसम्ममा छलफल गर्न सकिन्छ।’ उनले विभिन्न विषयमा अडान राखेर पार्टी एकतालाई लम्ब्याउन नहुने धारणा राखे। चुनावको जनादेश नै पार्टी एकताको पक्षमा आएकाले जतिसक्दो छिटो यसलाई टुंग्याउनुपर्ने उनको धारणा छ। ‘जनादेश एकताको पक्षमा आएको छ, यसलाई अब लम्ब्याएर बस्नु हुँदैन,’ श्रेष्ठले भने।
कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसालले पनि ‘जबज’ र ‘माओवाद’ कै कारण एउटा उपलब्धिमा पुगिसकेकाले अब त्यसैलाई समातेर बस्न नहुने धारणा राखे। दुवैको जगमा प्राप्त उपलब्धिलाई अझै समृद्ध बनाउने नयाँ सैद्धान्तिक बाटो तय गर्नुपर्ने उनको तर्क छ। ‘एमाले र माओवादी सैद्धान्तिक रूपमा जहाँ पुगेका छन्, त्यहींबाट अघि बढ्ने हो,’ उपमहासचिव भुसालले भने, ‘एमालेले नवौं महाधिवेशन र माओवादीको हेटांैडा महाधिवेशनबाट पारित गरेका दस्तावेज हेर्दा हामी धेरै निकट छौं।’ उनले समाजवादउन्मुख कार्यक्रम अघि बढाउने खालका संगठनात्मक संरचना र सैद्धान्तिक आधार तयार गरेर जानुपर्ने बताए। छिटो एकता गर्नुपर्नेमा जोड दिँदै उनले सैद्धान्तिक विषय सुरुमै स्पष्ट पार्न जरुरी रहेको उनको भनाइ छ। ‘छिटो एकता हुनुपर्छ तर सैद्धान्तिक रूपमा हामी स्पष्ट भएर जानुपर्छ,’ भुसालले भने, ‘त्यसो हुन सकेन, को प्रधानमन्त्री, को अध्यक्ष भन्नेमा मात्रै अल्झियौं भने हामीले जहाँ पुग्ने लक्ष्य राखेका हौं, त्यहाँ नपुग्न सक्छौं।’ पार्टी एकताको प्रसंग चलिरहेकाले त्यसैलाई बल पुग्ने प्रयोजनका लागि आफूहरू बहसमा आएको भुसालले जानकारी दिए।
विश्लेषकहरू हरि रोका र श्याम श्रेष्ठले चुनावी घोषणापत्रमा उल्लेख भएका समाजवादी सपनाहरू व्यवहारमा उतार्ने सैद्धान्तिक जग र संगठनात्मक संरचना तयार पार्नुपर्ने सुझाव दिए। दुवै पार्टी मिलेर जाँदा धेरै सम्भावना रहेकाले त्यसमा अडचन आउने खालका बहसमा नलाग्न उनीहरूले आग्रह गरे। तर दुवै पार्टीका दिगो एकताका लागि केही सैद्धान्तिक विषयमा स्पष्टताको जरुरी रहेको उनीहरूको पनि धारणा थियो। साभार कान्तिपुर