सिडिओ एलडिओको मिलेमतोमा गिटी, बालुवा तस्करी

सिडिओ एलडिओको मिलेमतोमा गिटी, बालुवा तस्करी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ पुष २०७४
  • 12.2K
    Shares

रत्नप्रसाद आचार्य  धरान  : सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र स्थानिय विकास अधिकारी तुुलसीबहादुर श्रेष्ठको मिलेमतोमा धरान उपमहानगरपालीका पूर्व सेउतीखोलामा स्काभेटर प्रयोग गरी ढुङगा, गिटी र बालुवा तस्करी सुरु गरिएको छ । राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने उक्त खोलामा इटहरीको पाथीभरा कन्शट्रक्सनका ठेकेदारसँग मिलेमतो गरी अनाधिकृत रुपमा ठेक्का लगाएर नदीजन्य पदार्थको तस्करी गरेका हुन् ।

सरकारले मानव बस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र सार्वजनिक स्थलको पाँच सय मिटर वरपर खोलानालामा ठेक्का लगाउन नपाउने गरि प्रतिबन्ध लगाएको छ । खोलानाला संरक्षण समितिका संयोजक समेत रहेका प्रजिअ पराजुलीको प्रत्यक्ष संलग्नतामा स्थानिय विकास अधिकारी तुलसी बहादुर श्रेष्ठले इटहरीका ठेकेदार भीम पौडेलको पाथीभरा सप्लायर्सलाई ठेक्का लगाएका छन् । उता सेउती खोलामा तस्करी भएको भन्दै स्थानिय वासिन्दाले तस्करी गर्नेलाई कडा कार्वाही माग गरेका छन् ।

धरान १५ का वडाअध्यक्ष नरेशकुमार इवारमले राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा गैह्र कानुनी ठेक्का लगाउने स्थानिय विकास अधिकारी श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी पराजुलीलाई कडा कार्वाही गर्न माग गरेका छन् । जिविसले अनाधिकृत रुपमा सेउती खोलामा नदीजन्य पदार्थको उत्खनन गर्न दिएकाले कोसी राजमार्गमा पर्ने सेउती खोलाको पुल, पानमारा जाने निर्माणाधिन पक्की पुल, मोटरवाटो र चारकासे जङ्गललाई गंभिर असर पुर्याएको उनको आरोप छ ।
ठेकेदारहरु इटहरीका भीम पौडेल, चतराका सुरेश श्रेष्ठ र अर्जुनसिंह भण्डारीले युवा परिचालन गरि एक सय भन्दा बढी ट्रिपर र ट्रयाक्टरमा नदीजन्य पदार्थको तस्करी गर्ने गरेको स्थानीयको भनाई छ ।

सरकारले उत्खनन गर्न प्रतिबन्ध लगाएपनि जिल्ला समन्वय समितिले सुनसरीको सेउतीखोला, सर्दुखोला, खारखोला, बाँघखोला, बुढिखोला, शेहराखोला आदीमा ठेक्का लगाएर उत्खनन गर्न ठेकेदारलाई अनुमति दिएको छ । धरानको सेउती खोला र शेहरा खोलामा उत्खनन गरिएका कारण बुढीखोला, शेहरा खोला र सेउती खोलाको बाढि अनियन्त्रित भई इटहरीका विभिन्न बस्तीमा पसेर ८ जनाको ज्यान लिनुका साथै सयौ घर डुबाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख कालिप्रसाद पराजुलीले अनाधिकृत रुपमा ठेक्का लगाएर सेउती खोलामा भइरहेको नदीजन्य पदार्थ उत्खनन र निकासी बन्द गर्न सुनसरीका प्रजिअ र स्थानिय विकास अधिकारीलाई निर्देशन दिएको बताए ।

annapurnapost

प्रतिक्रिया