सन् २००८ मा बगदादमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशकाथि जुत्ता हानियो। जुत्ता हान्ने पत्रकार अल जाइदी नायक भए। केही इराकीमा उनको जयजयकार भो। तर अमेरिकाप्रति इराकी जनताको आक्रोशको हल निकालिएन। यो बिदेशको एउटा दृष्टान्त मात्र हो।
नेपालमा नेताहरुमाथि यस्ता असन्तोष धेरैपटक प्रकट भएका छन्। यसलाइ असन्तोष प्रकट गर्ने उदण्ड शैली मात्र म भन्दिन। किनकि आम मान्छे गुनासाको पोको फुकाउन नेताहरुको दैलो चाहार्दै करजोरी बिन्ति बिसाउँदै हिंड्दैन। भित्रभित्रै निस्सासिएर गुम्सिएर ‘म्याग्मा’जस्तो भइसकेपछि त्यो कहीं पनि कुनै पनि रुप र अवतारमा प्रकट हुन्छ। धन्न ! हामीले त्यो अवतारमा अहिलेसम्म हिंसक ब्यवहार मात्र भेटेका छौं, हिंसा नै भोग्नुपरेको छैन।
सात वर्षअगाडि एमाले नेता झलनाथ खनालको पुक्क परेको गाला देवीप्रसाद रेग्मीले चड्काए। राजनीति गर्नेहरुप्रतिको त्यो घृणा र आक्रोशको उपचार खोजिएन बरु सामान्य किसान रेग्मीलाइ कठघरामा उभ्याइयो। इटहरीमा केही एमाले कार्यकर्ताले रेग्मीलाइ भाकभुक पारेर झलनाथको शिर उँचो त न त्यतिबेला भयो न आज भएको छ।
भृकुटीमण्डपको सार्वजनिक कार्यक्रममा प्रचण्डको गाला चड्काउने वाग्लुंगे पदम कुँवर थिए। प्रचण्डसँग उनको जानी दुश्मनी थिएन। थियो त प्रचण्डले बिर्सिएका वा बिर्सन थालेका मुद्दाहरुलाइ सम्झाउने वा सम्झना दिलाउने अराजक आक्रोश। खासमा त्यो निराशाको अभद्र अभिव्यक्ति नै थियो। तर त्यो घृणा र आक्रोश केही माओवादी कार्यकर्ताले कुँवरलाइ कुटपिट गरेर निमिट्यान्न भएन। ‘हाँस्दाहाँस्दै रुन जान्ने र रुँदारुँदै हाँस्न जान्ने’ प्रचण्डलाइ ‘रुनु न हाँस्नु’ बनाउने पदम कुँवर खासमा एउटा प्रतिनिधि पात्र थिए र उनको आवेग एउटा दृष्टान्त थियो।
डाक्टर बाबुराम भट्टराईमाथि पनि जुत्ता प्रहार भएकै हो। म हिरो हुन्छु र चर्चा पाउँछु भनेर मात्र सञ्जीव भट्टराईले बाबुराममाथि पक्कै जुत्ता हानेका थिएनन्। एउटा भट्टराइले अर्को भट्टराइलाइ जुत्ता हान्नु मात्र त्यो घटनाको आयाम होइन। त्यसमा समाजको मनोग्रन्थी नै सपाट भएर घुलेको थियो। बाबुरामको शिर निहुरिंदा अरु त हाँसे होलान् तर सन्जीव भट्टराइ हाँसन नसक्नुको पीडा सायद बाबुरामले पनि पढेनन्। बाबुराम ! अहिलेको चुनावी मोर्चाबाट हिजोका सन्जीव भट्टराइहरुको निराशामा मल्हम लगाउन सक्छौ ? आजको प्रश्न हो यो।
कपनको एउटा कार्यक्रममा नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति सुशिल कोइरालामाथि कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण गरे। त्यो बिद्रोह थिएन दल र दलका नेताप्रतिको वितृष्णा थियो। तर त्यो वितृष्णाको जरा खोजिएन। समयले कोइरालालाइ अवसर दियो र उनले प्रवेश वस्नेतहरुलाइ एक थान संविधान दिलाउने श्रेय लिएर परलोक सुधारे। यसमा यत्ति नै।
माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पनि तीनकुनेस्थित एक चिया पसलमा प्रेमराज देवकोटाको गतिलै चड्कन भेटेका हुन्। ‘संविधान बनाउन बिलम्व भो’ भन्दा झक्कु कमरेडले झापड भेट्नु र समृद्धिको सपनालाइ पत्यार लाग्दो बनाउन नसक्दा बाबुरामले जुत्ताको झट्टी खानुको कारण एउटै हो निराशा र आक्रोश। यो पाली हिमाल शर्मालाइ च्याम्पटी बनाएर फेरि चुनावी मैदानमा आएका झक्कु महोदयले प्रेमराज देवकोटाको झाप्पु सम्झनुपर्छ। र, भन्नुपर्छ मलाइ बाटो देखाउने तिनै प्रेमराजहरुलाइ साक्षी राखेर -आइन्दा म जनताको आशा र अपेक्षासँग खेल्दिन र अरुलाइ पनि खेल्न दिन्न।
पदम कुँवरलाई प्रचण्डले माफी दिए। एमाले नेता झलनाथ खनालले पनि आफुलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई माफी दिए। सुसिल कोइरालामाथी आक्रमण गर्ने बस्नेतले पनि माफी पाए। भोली निर्मलाले पनि माफी पाउलिन। तर माफी मात्र निराशाको हल होइन। निराशाको उपचार नेताहरु भरोशा गर्नलायक बन्नु हो। जनताका मुद्दामा खरो उत्रन नसके चड्कनभन्दा ठूलो बज्रपातले सधैं मूलबाटो कुरिरहेको हुन्छ। अरु सयौं निर्मलाहरु तयार हुनुअघि जनार्दन शर्माहरुले निर्मलाहरुको आशा र अपेक्षाहरुमा पौडिएर आफूलाइ सत्ताको तर चाट्नमात्र अभ्यस्त राख्नुहुन्न। नत्र हिजोको आफ्नै ‘काशन’को प्रतिध्वनी ‘बुमर्यांग’ हुन्छ। त्यो बेला न माफी माग्ने समय हुन्छ न माफी दिने।