१० भदौ, काठमाडौ । शुक्रबार दिउँसो ठिक १ बजे । युवा तथा खेलकुद मन्त्रालय पुग्दा, सबैभन्दा तल्लो तलाको कुनामा रहेको एक कोठा राज्यमन्त्रीका लागि व्यवस्थापन गरिंदै थियो ।
व्यवस्थापन तथा सरसफाई भइरहेको कोठाको एक छेउमा बसिरहेका थिए भर्खरै नियुक्त भएका यूवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी । पहिले जलस्रोत मन्त्रालय बसेको यस भवनमा अहिले ऊर्जा, सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय र जल तथा ऊर्जा आयोग छन् ।
त्यसैले राज्यमन्त्रीका लागि कोठा व्यवस्थापन गर्न गाह्रो भएको यूवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले बताए । उनले भने “युवा तथा खेलकुद मन्त्रालयको सवालमा भन्नुपर्दा सहसचिव ज्यू बसिरहनुभएकै कोठामा माननीय राज्यमन्त्रीलाई म्यानेज गरिएको छ । त्यसमा पक्कै उहाँलाई पनि कठिनाई भएको छ ।”
पशुपन्छी मन्त्रालय र कृषि विकास मन्त्रालय एउटै भवनमा छन् । भर्खरै नियुक्त भएका पशुपन्छी विकास राज्यमन्त्री गोमा कुँवरलाई पनि साँघुरो ठाउँमा बस्न मनै छैन, तर के गर्नु बस्नुपर्ने बाध्यता छ । कुँवरको भनाइ यस्तो रहेछ, “मन्त्रालयको पेरिफेरि पनि सानो छ, साथीहरु कता बस्ने भन्ने समस्या छ । अर्को कुरा मन्त्रीका लागि छुट्टै गोप्य कोठा नहुँदा झनै समस्या छ । संख्यात्मक हिसाबले ठूलो भएकाले पनि यस्तो समस्या देखिएको होला ।”
राज्यमन्त्रीहरुलाई मन्त्रालयमा बस्ने ठाउँको समस्या मात्र होइन, प्रयोग गर्ने सवारी साधनको समस्या पनि उस्तै छ । यूवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता थपलिया, कर्मचारीले प्रयोग गरिरहेको सवारी साधन राज्यमन्त्रीलाई उपलब्ध गराएको बताउँछन् ।
कार्यविभाजन नियमावली २०७२ मा मन्त्री र सचिवको जिम्मेवारी मात्रै उल्लेख छ । नियमावलीमा राज्यमन्त्रीले गर्ने काम, कर्तव्य र अधिकारबारे केही उल्लेख गरिएको छैन । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनक चौधरी भने मन्त्रीको सहयोगीको रुपमा काम गर्न आफू नियुक्त भएको बताए ।
भूकम्पले सिंहदरबारसहितका ३ पुराना भवन भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ मन्त्रालयलाई ठाउँ सानो भएको छ । त्यसमाथि राज्यमन्त्री र सहयोगी बस्ने ठाउँ व्यवस्थापन गर्दा थप समस्या परेको छ ।
त्यस्तै गृह मन्त्रालयले राज्यमन्त्रीका लागि गाडीको जोहो गर्न नसक्ने जवाफ दिइसकेको अवस्थामा मन्त्रालयहरुलाई गाडी व्यवस्थापन पनि चिन्ताको विषय भएको छ । २३ राज्यमन्त्रीहरुका लागि बस्ने कोठा व्यवस्थापन गर्न मन्त्रालयहरुलाई निकै अप्ठ्यारो परेको छ । सीएनआईको रिपोर्टमा आधारित ।