मोदीको भाषणभित्रको असली नियत

मोदीको भाषणभित्रको असली नियत


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ भाद्र २०७४
  • 9.1K
    Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका दुईटा विषयमा गम्भीर ध्यान दिउँ । पहिलो विषय हो– उनले नेपाल र भारतको सुरक्षा हित एक दोस्रोमा निर्भर र एक दोस्रोसँग जोडिएको बताएका छन् । इतिहास र वर्तमान दुवैले इन्कार गरेको तथ्य के हो भने नेपाल र भारतको सुरक्षा हित आपसमा जोडिएको र निर्भर छैन । तैपनि मोदीले यो कुरा बोले, किन ?

दोस्रो विषय हो– उनले सबैलाई समेट्दै नेपालको संविधान कार्यान्वयन हुनुपर्ने बताए । नेपालको संविधानले सबैलाई समेट्न सक्दैन, विश्वका कुनै पनि देशको संविधानले सबैलाई समेट्न सक्दैन र स्वयं भारतको संविधानले पनि सबैलाई समेट्न सकेको छैन भन्ने स्थापित तथ्य हो । तैपनि मोदीले यो कुरा उठाए, किन ?

यसबाहेक मोदीले अरु कुरा पनि बोले, विकास निर्माण र नेपाललाई दिइएको सहयोगको चर्चा गरे । द्विपक्षीय भ्रमणको दौरानमा हुने पत्रकार सम्मेलनमा यस्ता विषयमा चर्चा गरिनु स्वाभाविक हो । मोदीले बोलेका विषय भित्रका विशेष कुरा चाहिँ आपसी सुरक्षा हित र नेपालको संविधान हो ।

भारतको कूटनीतिक शैली, नेपालप्रतिको व्यवहार र अहिलेको समग्र परिस्थितिलाई समग्रमा विश्लेषण गर्दा के देखिन्छ भने आपसी सुरक्षा हितको कुरा र नेपालको संविधानको कुरालाई भारतले जोड्दै लगेको छ । यसरी जोड्नुमा उसले खास रणनीतिक लाभ देखेको छ ।

कसरी जोडियो सुरक्षा ?

विगतका द्विपक्षीय भ्रमणको क्रममा आएका अभिव्यक्तिहरुको अध्ययन गर्दा के देखिन्छ भने नेपाल र भारतको सुरक्षा हित आपसमा निर्भर र जोडिएको भन्ने भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । अहिलेको सन्दर्भमा यो अभिव्यक्तिले निकै गम्भीर र गहिरो अर्थ राख्छ । किनभने भारत र चीनबीच तनाव चलिरहेको छ र तनावमा नेपाललाई पक्षमा लिन दुवै देशले प्रयाश गरिरहेका छन् । यस्तो बेला भारतीय प्रधानमन्त्रीले नेपाल र भारतको सुरक्षा हित आपसमा निर्भर छ भन्नुलाई सामान्य अर्थमा लिइनु हुन्न ।

भारतले चीनबाट आफूलाई खतरा देखिरहेको छ । भारतको सुरक्षा खतरा नेपालको पनि स्वत सुरक्षा खतरा हो भन्ने आशय मोदीको अभिव्यक्तिको निहितार्थ हो । यो निहितार्थभित्र अझ छिर्ने हो भने यो भनाईको आशय भारत र चीनको तनावमा नेपालले स्वत भारतको पक्ष लिनुपर्छ भन्ने हो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतले नेपाललाई आफ्नो पक्षमा उभ्याउन केही न केही गर्छ, कुनै न कुनै रुपमा त्यस आशयको अभिव्यक्ति आउँछ भन्ने पूर्वानुमान बिना कारण गरिएको थिएन । भारतीय पक्षबाट नेपाललाई आफ्नो पक्षमा उभ्याउन दवाब दिने र फकाउने काम भइरहेको जगजाहेर थियो । यही पृष्ठभूमिमा भारतीय सुरक्षाको कुरा देउवा भ्रमणको क्रममा कुनै न कुनै रुपमा आउँछ भन्न पूर्वानुमान गरिएको थियो । नभन्दै भारतको तर्फबाट कुरा आयो ।

मोदीको औपचारिक अभिव्यक्तिमा यति कुरा आयो भने भित्री वार्तामा कति कुरा आयो होला ? अनुमान लाउन सकिन्छ । तर, तथ्यले के भन्छ भने नेपाल र भारतको सुरक्षा आपसमा निर्भर छैन, जोडिएको छैन । हुनत सुरक्षा भन्ने विषय अन्र्तनिर्भर हुन्छ, भारत र नेपालको सुरक्षा आपसमा निर्भर छ भन्न मिल्छ भने नेपाल र चीनको सुरक्षा पनि आपसमा निर्भर छ भन्न मिल्छ । सुरक्षामा आपसी निर्भरताको कुरा मोदीले सैद्धान्तिक रुपमा मात्र उठाएका होइनन् भन्ने अहिले चलिरहेको भारत चीन तनावले स्पष्ट पार्छ ।

नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्ने भारतीय चाहना नयाँ होइन, मोदीको अभिव्यक्तिबाट भारतको त्यो चाहना अभिव्यक्त भएको छ ।

नेपाल भारतबीच दौत्य सम्बन्ध स्थापित भएको सात दशकमा भारतले दुई ठूला युद्ध लडिसकेको छ, पाकिस्तान र चीनसँग । अन्य सानो स्तरका युद्ध पनि गरिसकेको छ । भारतले युद्ध गर्दा नेपाल सधैं तटस्थ बस्यो, भारतलाई खतरा हुँदा नेपाललाई खतरा भएन । त्यसबेला सुरक्षामा आपसी निर्भरताको कुरा आएन, अहिले मात्र आयो ।

सीमा जोडिएकैले सुरक्षामा आपसी निर्भरता हुन्छ, जोडिन्छ भन्ने तथ्य गलत हो । अमेरिकाले केही दशक यता कैयन युद्ध लडिसकेको छ तर उसले आफ्नो सीमा जोडिएको मेक्सिको या क्यानडासँग सुरक्षामा आपसी निर्भरता छ भनेको छैन ।

बरु, सीमा जोडिएका देशहरुबीच सुरक्षामा आपसी निर्भरता होइन आपसी खतरा चाहिँ हुने गरेको देखिन्छ । नेपाल स्वयंले भारतबाट यस्तो खतरा भोग्दै आइरहेको छ । नेपालले भारत चीन विवादमा तटस्थ रहने घोषणा गरेको पृष्ठभूमी ध्यानयोग्य छ, मोदीले नेपालको तटस्थताको चर्चा नगरी सुरक्षा निर्भरता र सुरक्षा जोडिएको अभिव्यक्ति दिनुले भारतको भित्री इच्छा अभिव्यक्त भएको मान्न सकिन्छ ।

देउवा अडेका हुन् ?

मोदीले पत्रकार सम्मेलनमा नेपाल र भारतको सुरक्षा जोडिएको छ भनिरहँदा देउवा सुनिरहेका थिए । मोदीपछि बोलेका देउवाले सुरक्षा निर्भरता र सुरक्षा जोडिएको कुराको चलाखीपूर्ण जवाफ दिए । उनले नेपाली भूमिबाट भारतका विरुद्ध खतरा नआउने बताए । भारत भ्रमणमा जाने हरेक प्रधानमन्त्रीले यो कुरा भन्दै आएका छन्, देउवाले पनि भने । यो नौलो कुरा होइन । तर, सुरक्षा निर्भरताको कुराको जवाफ देउवाले फर्काएनन् ।

यसको मतलब भारतीय दवाब सामु देउवा अडेका हुन्, भारतीय दवाब घुमाउरो पाराले अस्वीकार गरेका हुन् ? देउवाको भाषणको क्रममा मोदीको बडी ल्याङग्वेज ध्यानयोग्य थियो । देउवाको मुखबाट कुनै खास कुरा सुन्न चाहिरहेको झैं भाव उनले देखाइरेहेका थिए । देउवाको भनाईबाट उनी खासै खुसी छैनन् भन्ने आभाष उनको बडी ल्याङग्वेजबाट देखिन्थ्यो । अन्तराष्ट्रिय कूटनीतिमा बडी ल्याङग्वेजले धेरै कुरा भन्छ भने धेरै कुरा लुकाउँछ पनि ।

के चाहिँ प्रष्ट छ भने सुरक्षा र नेपालको तटस्थ नीतिबारे प्रधानमन्त्री देउवा समक्ष भारतीय पक्षले कुरा राख्यो । मोदीले देउवा भ्रमणको पहिलो दिन नै सेड्यूल बाहिर गएर भेट बिना कारण पक्कै गरेका होइनन् । उनले त्यस्तो भेटमा नेपालका भूकम्प पीडित या बाढी पीडितका बारेमा पक्कै कुरा गरेनन् । कुराको विषय दोक्लम प्रकरण र नेपालको तटस्थताको नीतिको सेरोफेरोमा थियो भन्ने अनुमान लाउन गाह्रो छैन । अर्थात्, आपसी हितको नाममा भारतीय हितकै कुरा भारतीय प्रधानमन्त्री मोदीले देउवा समक्ष राख्ने नै भए ।

दवाब सामु देउवा अडेकै हुन् त ? यो प्रश्नको केही जवाफ भ्रमणको अन्त्यमा जारी हुने संयुक्त विज्ञप्तिले दिनेछ । ठोस जवाफ चाहिँ आगामी दिनमा देउवा नेतृत्वको सरकारले तटस्थ विदेश नीतिलाई व्यवहारमा कसरी उतार्छ भन्नेले दिनेछ । पत्रकार सम्मेलनलाई मात्र आधार मान्ने हो भने चाहिँ देउवा अडेकै देखिन्छ ।

तर, देउवा झुके पनि चुके पनि

तर, अर्काे ठाउँमा भने उनी नराम्रोसँग चुके । कति चुके भने नेपालको हात काटेरै दिए । त्यो प्रकरण हो संविधान । मोदीले कुरा बटार्दै लगेर नेपालको संविधानले सबैलाई समेटेको छैन भन्ने भारतको पुरातन धारणा अर्थात् वार्गेनिङ चिप्स प्रस्तुत गरे ।

उनको समग्र अभिव्यक्ति निकै चतुर र कूटनीतिक थियो । संविधानको प्रसंगमा पनि उनले निकै वाठो कुरा गरे । उनले संविधान लागु होस् पनि भने, संविधानले सबैलाई समेटेको छैन पनि भने, समेट्नुपर्छ पनि भने कूटनीतिक पाराले एकै वाक्यमा ।

जवाफमा देउवाले संविधान संशोधन हुन नसकेकोमा दुख मनाउ गर्दै आगामी दिनमा संशोधनका लागि प्रयाश गरिने बताए । संविधान संशोधन विधेयक फेल भएपछि देउवाले नेपालमा नबोलेको कुरा भारतमा गएर बोले । आगामी दिनमा संशोधन गरिने बताए । पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीले भारतीय दवाब आए पनि संविधान संशोधन गर्छु भनेनन्, फलत भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ति समेत जारी भएन । पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधन गर्छु भनेर वाचा गरेर स्वदेश फर्किएका थिए । देउवा पनि ठ्याक्कै प्रचण्डपथमा लागे, निहुरमुन्टी न बनेर संविधान संशोधनको वाचा गरे ।

अब देउवाले पनि जवाफ दिनुपर्छ– के नेपालको संविधान नेपाल र भारतको आपसी विषय हो ?

देउवाले नेपालकाे संविधान संशाेधनकाे मामिलालाई फेरी भारतीय हातमा पुराएका छन् । नेपालकाे अान्तरिक मामिलामा भारतीय चासाे र हस्तक्षेपलाई स्वीकार गरेका छन् ।

भारतले नेपालको संविधानमा अत्तो थापेर ब्ल्याकमेलिङ गर्दै आइरहेको जगजाहेर छ, उसले अब संविधानलाई पूर्ण समर्थन गर्छ भन्ने भ्रम सत्य सावित भएन । नेपालको संविधानलाई समर्थन दिने भए तटस्थ विदेश नीति त्यागेर भारतको समर्थन गर्नुपर्छ भन्ने आशय भारतले देखाएको छ । नेपाललाई भारतले गर्दै आएको ब्ल्याकमेलिङ शैलीको व्यवहार हेर्दा उसले नेपालको समर्थन हासिल गर्न संविधानमा उसले देखाएको खोटलाई वार्गेनिङ चिप्सको रुपमा प्रयोग गरिरहने मोदीको भाषणबाट प्रष्ट भएको छ ।

तथापि, संविधानप्रति मोदीले केही नरम भाव देखाएका छन्, नेपालको संविधानप्रति विगतको स्तरको द्धेष यसपटक मोदीले देखाएनन्, पूर्ण समर्थन पनि देखाएनन् । अर्थात्, वार्गेनिङ र ब्ल्याकमेलिङ गरिरहने छाँट देखाए । प्रधानमन्त्री देउवाको भ्रमण जारी छ, भ्रमणको उपलब्धी, भारतीय नीति र व्यवहार अनि नेपालको अडानको विस्तृत विश्लेषण भ्रमणपछि नै गरौंला ।

प्रतिक्रिया