चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले जनाए आपत्ति

चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले जनाए आपत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ साउन २०७४
  • 8.5K
    Shares

काठमाडौँ, १८ साउन । चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले आपत्ति जनाएका छन् ।

चुनावमा हार्ने अबस्था आएपछि मतदातालाई भड्काउने नियतले आफ्नो छोरा निरब ज्ञवालीलाई काठमाडौँमा पक्राउ गरिएको ज्ञवालीको भनाइ छ । निरभ देवीका कान्छो छोरा हुन् । पेशाले वकिल रहेका निरबलाई दुई महिना अघि नै साम्य भइसकेको विषयलाई लिएर प्रहरीले बुधबार पक्राउ गरेको हो ।

माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहालको उजुरीको आधारमा निरभलाई प्रहरीले काठमाडौँमा पक्राउ गरेपछि ज्ञवालीले दैनिक नेपालसँग भने ‘माओवादीबाट गृहमन्त्री बनेका जनार्दन शर्माको ठाडो आदेशमा मेरो छोरालाई काठमाडौँमा पक्राउ गरिएको हो । यथाशिघ्र रिहा गरियोस् । म यसको घोर निन्दा गर्छु । ‘

आफूलाई फसाउन नसकेपछि छोरालाई फसाइएको ज्ञवालीको दाबी छ । ‘सरकार उहाँहरुकै, गृहमन्त्री उहाँकै । मलाई अनेक षडयन्त्र गरेर फसाउन खोजियो । मेरो छोरालाई साइबर कानुन लगाउनुपर्ने कुनै अपराध गरेको छैन् ।’- ज्ञवालीले दैनिक नेपालसँग भने ।

खास घटना के हो ?

भरतपुर महानगरपालिकामा मतपत्र त्याएपछि त्यसको दोष रेणुले एमालेलाई लगाएकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै रेणुले एमालेले मतपत्र च्यातेको भन्दै एमाले कार्यकर्तामाथि कारबाही गरिनुपर्ने भनेकी थिइन् । जबकी मतपत्र च्यातेको अभियोगमा त्यतिबेला माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रेणुको स्टाटस देखेपछि देवीका कान्छो छोरा निरभले पनि फेसबुकबाटै जबाफ फर्काएका थिए ।

‘माओवादीले मतपत्र च्यातेको घामझैं छर्लंग हुँदाहुँदै पनि देवीजीले एमालेलाई आरोप लगाएपछि मेरो कान्छो छोराले नकचरोपन भन्दै जबाफ फर्काएछन् । यथार्थ कुरालाई बंग्गाएर एमालेलाई मतपत्र च्यातेको आरोप लगाएपछि निरभले यस्तो झुटो कुरा गर्ने र सडकमा नांगै हिँडने मान्छेको बीचमा कुनै फरक हुँदैन भनेर लेखेका रहेछन् । जुन कुरा मैले धेरै पछि मात्रै थाहा पाएँ । मैले तत्काल निरभलाई तिमीले लेखेको कुरा ठीक भए पनि शब्द चयन अलि ठीक भएन भन्दै सच्याउन लगाएँ । उनले फेसबुकमा लेखेको स्टाटस नै हटाए । अनि मेरो कारणले कोही कसैको चित्त दुखे माफी चाहन्छु भनी क्षमायाचना पनि गरे । यो दुई महिना अघिको कुरा हो ।’, देवीले घटनाविवरण सुनाउँदै भने- ‘त्यसपछि निरभलाई ज्यानै मार्नेसम्मका धम्की आए । हामीले त्यसलाई सहेरै बस्यौँ । मलाई पनि यो बीचमा फसाउन अनेक कोसिस गरिए । तर, मलाई नसकेपछि साइबर कानुनको सहारा लिँदै मेरो छोरालाई फसाउन खोजिएको छ ।’

देवीले भने – ‘मेरो परिवारलाई दुःख दिने अनि मतदातालाई भ्रम फैलाउने उद्देश्यले मेरो कान्छा छोरालाई पक्राउ गरिएको हो ।’

महानगरीय अपराध महाशाखा काठमाडौँले रेणुका विषयमा लेखेको स्टाटसकै आधारमा बुधबार दिउँसो निरभलाई काठमाडौँबाट पक्राउ गरेको हो । प्रहरीले निरभलाई साइबर अपराध अन्तरगत मुद्दा चलाउने बताएको छ ।

चुनावको मुखमा छोरा पक्राउ गरिनुलाई देवीले आफूमाथिको अर्को षडयन्त्रको रुपमा लिएका छन् ।

प्रतिक्रिया