विराटनगर महानगरपालिकाको कोसी राजमार्गमा पर्ने मुनालपथमा आज बिहान अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् ।
प्रहरीका अनुसार उदयपुरको बेलटारकी ४७ वर्षीया टिनादेवी विष्टलाई गोली हानिएको हो । घाइते बिष्टको विराट अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्ति पहिचान हुन सकेको छैन भने गोली प्रहार गर्नुको कारण खुलेको छैन ।
घटनापछि प्रहरीले घटनास्थल र आसपासका क्षेत्रमा निगरानी बढाएर आक्रमणकारीको खोजी गरिरहेको छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुईजना युवकमध्ये एकजनाले गोली चलाएका थिए । मोटरसाइकल नम्बर र गोली प्रहार गर्ने व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।