सरकारले पहिलोपटक उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरा र बाग्लुङमा स्मार्ट लाइसेन्स वितरण थालेको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
विभागले २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । स्मार्ट लाइसेन्सको वितरण थालेको झण्डै २ वर्षमा सोमबार अञ्चल यातायात कार्यालय पोखरा मंगलबार बाग्लुङबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु भएको हो ।
‘साउनको अन्तिमसम्ममा सबै स्थानबाट स्मार्ट लाइसेन्स वितरण गर्ने योजना अनुरुप हामी प्राविधिक तयारी भइरहेको छ,’ भट्राईले भने, ‘ हामी सबै प्राविधिक तयारी चाँडै सकेर सबै क्षेत्रमा स्मार्ट लाइसेन्स लैजान्छौं ।’
विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । विभिन्न कार्यालयमा स्मार्ट लाइसेन्सको सफ्टेवर जडानका लागि मद्रास सेक्युरेटी पि्रन्टर्सको टोली नेपालमा छ । उनीहरु लाइसेन्सको सर्भर व्यवस्थापन गर्ने काममा विभागको प्राविधिक टोलीसँगैकाम गरिरहेका छन् ।
‘पोखरापछि यो सेवा अन्य क्षेत्रमा गर्न धेरै ढिलाइ गरिने छैन,’ महानिर्देशक भट्टराईले भने, ‘अब स्मार्ट लाइसेन्स उपत्यकाबाहिर पनि बाँड्नैपर्छ । पुरानो प्रविधिको विस्थापनमा हामी अग्रसर छौं ।’
कस्तो हुन्छ स्मार्ट लाइसेन्स ?
स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । पोलिकार्बोनेटबाट बनेको हुनाले आगो र पानीले यसलाई कुनै हानि पुर्याउन सक्दैन । यो टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ ।
यसमा देखिने गरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सिमकार्डमा जस्तै धातुको चीप जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् ।
धातुको चिपमा भएका डाटालाई लिंकेज र डाटारिडर मेसिनमा राखेर हेर्न सकिन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेपछि त्यसैमा रकेर्ड राखिन्छ ।
यसमा विभिन्न सेक्युरेटी फिचरहरु पनि हुन्छन् । जसमार्फत विभाग र ट्राफिक प्रहरीले चालक र उसले चलाउने सवारीसम्मका विस्तृत विवरणहरु चाहेको बेला राख्न, झिक्न र हेर्न सक्छ ।
स्मार्ट लाइसेन्सको चिपमा रहने डाटामा चालकको औंठाछाप र बायोमेटि्रक क्याप्चरसहित वास्तविक विवरणहरु पनि राखिन्छ । त्यसैकारण कसैले चोरी भएका वा भेटाएका लाइसेन्स प्रयोग गर्न नसक्ने यातायात व्यवस्था विभागको भनाइ छ ।