दाङ / निर्वाचनको अघिल्लो दिन दाङका उम्मेदवारका घरसहित ५ स्थानमा बम फेला परेका छन्। प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ। गिरीको घरमा मंगलबार बिहान बम फेला परेको थियो।
यसैगरी तुलसीपुरकै बीपी चोक र अरनिको मैदानमा पनि बम भेटिएको प्रहरीले जनाएको छ। अरनिको मैदानमा बुधबार हुने निर्वाचनको लागि मतदान स्थल निर्धारण गरिएको छ। मेयर उम्मेदवारको घर सहित तुलसीपुरमा फेला परेका तीन स्थानका बम नेपाली सेनाले डिष्पोज गरेको छ।
यस्तै घोराही उपमहानगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमको घरमा पनि शंकास्पद बस्तु फेला परेको छ। घोराहीस्थित ट्राफिक चोकमा पनि बम फेला पारेको प्रहरीले जनाएको छ। निर्वाचन विरोधी गतिविधि गर्दै आएको विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले सो बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
यसैबीच, निर्वाचन खारेजीको माग गर्दै नेपाल कम्यूनिष्ट पार्टिले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ। बन्दका कारण दाङसहित दोश्रो चरणको निर्वाचन हुने जिल्लाहरु प्रभावित भएका छन्। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन् भने बजार, उद्योगहरु पनि बन्द छन्।