वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा सहारा टिभी एचडीका सञ्चालक पक्राउ

वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा सहारा टिभी एचडीका सञ्चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ असोज २०८३
  • 114
    Shares

नेपालगन्ज । व्यक्तिको वैयक्तिक गोपनीयता तथा सामाजिक प्रतिष्ठामा असर पुग्ने गरी फोटो तथा भिडियो विद्युतीय माध्यमबाट प्रकाशन तथा प्रचारप्रसार गरेको आरोपमा बाँके प्रहरीले सहारा टिभी एचडीका सञ्चालक हिमांशु शाहीलाई पक्राउ गरेको छ।

कोहलपुर नगरपालिका–११ निवासी ३६ वर्षीय शाहीलाई व्यक्तिको मञ्जुरीबिना तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको तथा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार शाहीमाथि विद्युतीय अपराध तथा वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पोलिक्लिनिकको घटनासँग जोडिएको प्रकरण

शाही पक्राउ प्रकरण कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा गत शनिबार भएको घटनासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

उपचारका लागि पोलिक्लिनिक पुगेकी एक युवतीले स्वास्थ्य जाँचका क्रममा आफूलाई यौन दुर्व्यवहार भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीका आधारमा प्रहरीले पोलिक्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मी ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

यसैबीच, उक्त घटनाको कानुनी अनुसन्धान जारी रहेकै अवस्थामा पोलिक्लिनिकभित्र दुवै पक्षबीच भनाभन तथा युवतीले थापामाथि हातपात गरेको देखिने भिडियो सहारा टिभी एचडीको अनलाइन तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

भिडियो सार्वजनिक भएपछि गोपनीयताको प्रश्न

घटनासँग सम्बन्धित पक्षको भिडियो सार्वजनिक भएपछि पीडित भनिएकी युवतीको वैयक्तिक गोपनीयता तथा पहिचान संरक्षणको विषयमा प्रश्न उठेको थियो।

प्रहरीका अनुसार व्यक्तिको मञ्जुरीबिना तस्बिर तथा भिडियो खिच्ने, सार्वजनिक गर्ने तथा त्यसबाट व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा असर पुग्ने अवस्था सिर्जना गर्ने गतिविधिमाथि अनुसन्धान भइरहेको छ।

शाहीमाथि सार्वजनिक गरिएको भिडियो तथा अन्य सामग्रीको प्रकृति, स्रोत, प्रकाशनको उद्देश्य र त्यसबाट सम्बन्धित व्यक्तिको गोपनीयता तथा प्रतिष्ठामा परेको प्रभावबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता, पोलिक्लिनिकमा युवतीमाथि भएको भनिएको यौन दुर्व्यवहारसम्बन्धी आरोपमा पनि प्रहरीको छुट्टै अनुसन्धान जारी छ। उक्त घटनामा पक्राउ परेका स्वास्थ्यकर्मी थापामाथिको अनुसन्धान र शाहीले भिडियो प्रकाशन गरेको विषयलाई प्रहरीले छुट्टाछुट्टै कानुनी प्रक्रियाअनुसार अघि बढाइरहेको जनाएको छ।

प्रहरीले अनुसन्धान पूरा भएपछि दुवै घटनामा संलग्न व्यक्तिको भूमिका तथा कानुनी जिम्मेवारीबारे थप तथ्य सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया