पोखराको बेगनासतालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पोखराको बेगनासतालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असोज २०८३
  • 855
    Shares

पोखरा, १८ असोज २०८३ ।
कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजारमा बस्दै आएका अन्दाजी २४–२५ वर्षीय नरेश विक रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहका अनुसार आइतबार साँझ बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा विक डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा गोताखोरसहित ११ जनाको खोज तथा उद्धार टोली साँझ ५ः५५ बजे घटनास्थलतर्फ परिचालन गरिएको थियो।

खोजीका क्रममा सशस्त्र प्रहरीका गोताखोर जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ करिब ७ बजे तालमा डुबेको अवस्थामा विकलाई फेला पारेका थिए। गोताखोर टोलीले तालको करिब २५ फिट गहिराइबाट उनलाई मृत अवस्थामा उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धारपछि विकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि पठाइएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पछिल्लो समय बेगनास तालमा पौडी खेल्ने तथा नुहाउने क्रममा हुने यस्ता दुर्घटना रोक्न सावधानी अपनाउन आवश्यक देखिएको छ। तालको गहिराइ, पानीको बहाव तथा मौसमको अवस्थाबारे पर्याप्त जानकारी नलिई पानीमा पस्दा जोखिम बढ्न सक्ने भएकाले स्थानीय तथा पर्यटकलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार