पोखरा, १७ असोज २०८३ ।
कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले पोखरा महानगरपालिका–२६ मुरलीचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र पोखरा–९ पृथ्वीचोकस्थित एक होटलबाट विभिन्न प्रकारका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार असोज १५ गते दिउँसो करिब ३ः३० बजे मुरलीचोकमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले पोखरा–२६ मुरलीचोक बस्ने ३० वर्षीय सरोज बन्जराको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्लास्टिकबाहेक डिजिटल तराजुमा तौल गर्दा ६.५० ग्राम रहेको ब्राउनसुगर (खैरो हेरोइन) जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका बन्जरालाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
यसैगरी, असोज १६ गते दिउँसो करिब २ बजे पोखरा–९ पृथ्वीचोकस्थित होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले होटल मध्येबिन्दु एण्ड लजको एक कोठाबाट ३९ वर्षीय डिके गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
स्याङ्जाको वालिङ नगरपालिका–३ घर भएका गुरुङको साथबाट डाईजापाम २७ एम्पुल, बुप्रेनोर्फिन २७ एम्पुल र फेनेरागन २७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागुऔषध, नगद १० हजार रुपैयाँ र एउटा मोबाइल बरामद भएको प्रहरीको भनाइ छ।
गुरुङलाई पनि कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।