एसीसी प्रिमियर कप विजेता बन्दै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर कप विजेता बन्दै नेपाल एसिया कपमा छनोट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ भाद्र २०८३
  • 456
    Shares

पोखरा, २७ भदौ २०८३

नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसहित एसिया कपमा स्थान पक्का गरेको हो।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो। यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ र कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।

नेपालका करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रनको शतकीय इनिङ्स खेले। गुल्शन झाले ३८ बलमा ५२ रन बनाउँदा अर्जुन कुमालले ४३ र रोहित पौडेलले ४० रनको योगदान दिए।

आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक पूरा गरेका हुन्। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यूएईका इबरार अहमदले ४ तथा खुजाइमा बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले समान १–१ विकेट लिए।

नेपालले यसअघि सन् २०२३ को एसीसी प्रिमियर कप फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो।

प्रतिक्रिया