एमाओवादीको भातृ संगठन वाइसिएल नेपालभित्र तीब्र विवाद देखिएको छ । यही माघ १० गतेमात्रै पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको वाइसिएलमा समावेशी ढंगले नेतृत्व चयन नगरिएको भन्दै केहि असन्तुष्टहरुले संगठनबाटै राजीनामै दिएका छन् । राजीनामा दिनेहरुमा प्रदेश नम्बर ७ बाट प्रतिनिधित्व गरि उपाध्यक्ष बनाइएका लिला शर्मासहित ९ केन्द्रीय सदस्य रहेको वाइसिएलका एक नेताले जानकारी दिए । उनका अनुसार असन्तुष्टहरुले सोमबार बसेको पहिलो केन्द्रीय समितिको बैठक समेत बहिस्कार गरेका छन् । ‘संगठनलाई नै ध्वस्त बनाउने गरि कार्यसमिति बनाइएको भन्दै असन्तुष्टहरुले राजीनामा दिएर बैठक बहिस्कार गरे’ वाईसिएलका ति नेताले भने । यस्तै नेवा राज्य समितिबाट केन्द्रीय समितिमा पुगेका शिब कोइरालाले समेत राजीनामा दिएका छन् ।
असन्तुष्टहरुले आफ्नाहरुलाई कार्यसमितिमा स्थान दिएर योग्य र सक्षमलाई पछाडि पार्ने काम भएको आरोप लगाएका छन् । स्रोतका अनुसार अधिकांश सहभागिको चाहनाबमोजिम सर्वसम्मत कार्यसमिति चयन गर्ने नाममा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले कार्यसमितिको सूचि तयार पारेका थिए । जसअनुसार उपाध्यक्ष र तीन सचिव प्रकाश समुहका समेत परेको बताइन्छ । प्रकाश समुहबाट उपाध्यक्षमा शिब फुयाँल, सचिवमा लालेन्द्र मण्डल, मणि राई र क्षितिज लामिछाने रहेका छन् । असन्तुष्टहरुले सिन्धुपाल्चोकबाट मात्रै अध्यक्षसहित ३ जना राखिएको भन्दै आपत्ती जनाएका छन् । सिन्धुपाल्चोकबाट अध्यक्षमा आरसी शर्मा रहेका छन् भने उपाध्यक्ष युवराज दुलाल तथा महासचिवमा रामप्रसाद सापकोटा रहेका छन् ।
असन्तुष्टहरुले नेतृत्वले गलत निर्णय सच्याउनु पर्ने माग गर्दै त्यसो हुन नसकेको खण्डमा संगठन र स्वयम् एमाओवादीलाई समेत असर पुग्ने दाबी गरेका छन् । असन्तुष्ट मध्येका एक शिब कोइरालाले संगठभित्र केहि समस्या रहेको बताए । उनले आफूहरुले निर्वाचन प्रक्रियाबाट जानका लागि माग गरेको भएपनि त्यसलाई वेवास्ता गर्दै मनपरि ढंगले कार्यसमिति चयन गर्ने काम भएको दाबी गरे । ‘निर्वाचन प्रक्रियाबाट जानुपर्छ भनेका थियौं, तर सुनुवाई भएन अहिले बहिस्कार र राजीनामा भन्दापनि छलफलमा छौं’, उनले भने ।
कोइरालाले मनपरि ढंगले संगठन चल्न नसक्ने भन्दै संगठनलाई बलियो बनाउनको लागि आफूहरुले आवाज उठाएको समेत तर्क गरे ।
यसैबीच राष्ट्रिय सम्मेलनमा फर्जीरुपमा केन्द्रीय प्रतिनिधि समेत बनाएर पठाएको पाइएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिने सन्तोष पनेरुलाई फर्जी प्रतिनिधि बनाएर उल्टै केन्द्रीय सदस्य बनाइएको छ । यसअघि जम्बो केन्द्रिय कार्यसमिति रहेको वाइसियल अहिले घटाएर १५१ सदस्यीय बनाइएको छ । सानो केन्द्रिय समिति भएकै कारण आफ्नाहरुलाई पार्ने खेल चल्दा योग्य र वरिष्ठहरु छुट्न पुगेको स्रोतको भनाई छ ।
नयाँ संविधानका उपलब्धीहरुलाई संस्थागत गर्दै समाजवादको दिशामा अघि बढौँ, राष्ट्रिय स्वाधिनतासहित समृद्ध नेपालको निमार्ण गर्न वाइसिएल निर्माण गरौं’भन्ने नारासहित आइतबार वाइसिएल नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको थियो । जसमा १७ सदस्यीय पदाधिकारी रहेका छन् ।