पोखरा, १२ असार २०८३ ।
स्विट्जरल्याण्डमा सम्पन्न ईरान–अमेरिका शान्ति वार्ताका क्रममा पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनिर र उनको प्रतिनिधिमण्डललाई लक्षित गरी इजरायली गुप्तचर संस्था मोसादले हत्या गर्ने षड्यन्त्र रचेको दाबी सार्वजनिक भएको छ। उक्त दाबी ब्राजिलका पत्रकार पेपे एस्कोबारले एक पोडकास्टमार्फत गरेका हुन्।
राजनीतिक विश्लेषक मारियो नाफलसँगको संवादमा एस्कोबारले स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा भएको ईरान–अमेरिका वार्तामा पाकिस्तान र कतारका प्रतिनिधिमण्डल पनि सहभागी रहेको उल्लेख गर्दै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा मोसादले पाकिस्तानी प्रतिनिधिमण्डललाई लक्षित गरी आक्रमणको तयारी गरेको विश्वसनीय सूचना पाकिस्तानी सुरक्षा निकायले प्राप्त गरेको दाबी गरेका छन्।
उनका अनुसार, अमेरिका–ईरान वार्तामा इजरायललाई समावेश नगरिएकाले इजरायल असन्तुष्ट रहेको र त्यसै सन्दर्भमा उक्त योजना बनाइएको थियो। एस्कोबारले पाकिस्तानले ओमानमार्फत इजरायललाई कुनै पनि प्रकारको आक्रमण भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको दाबी पनि गरेका छन्।
यद्यपि, पाकिस्तान सरकार र सेनाले यी सबै दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। पाकिस्तानी सञ्चारमाध्यम एआरवाइ न्युजका अध्यक्ष कामरान खानले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै उक्त आरोपलाई “पूर्णतः निराधार र काल्पनिक” बताएका छन्।
सुरक्षा अधिकारीका अनुसार प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको स्विट्जरल्याण्ड भ्रमण पूर्वनिर्धारित कार्यक्रमअनुसार कुनै अवरोधबिना सम्पन्न भएको थियो। भ्रमणका क्रममा कुनै सुरक्षा चेतावनी जारी गरिएको थिएन भने स्विस वा अमेरिकी सुरक्षा निकायबाट पनि कुनै सम्भावित खतराबारे सूचना प्राप्त भएको थिएन। अधिकारीहरूले हत्याको षड्यन्त्रसम्बन्धी दाबीलाई तथ्यहीन र आधारविहीन बताएका छन्।
इजरायल र पाकिस्तानबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन। पाकिस्तानले हालसम्म इजरायललाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिएको छैन। यसैबीच, पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले हालै लेबनानमा इजरायलको सैन्य कारबाहीको आलोचना गरेका थिए।
क्षेत्रीय सुरक्षा र भू–राजनीतिक संवेदनशीलताका बीच सार्वजनिक भएका यस्ता दाबीले विभिन्न चर्चा जन्माए पनि हालसम्म ती दाबी पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। पाकिस्तानको डिजिटल समाचार प्लेटफर्म द करेन्ट लगायत विभिन्न विश्लेषकहरूले पनि पेपे एस्कोबारको दाबीलाई तथ्यहीन र अपुष्ट बताएका छन्।