काठमाडौं, ४ असार २०८३ ।
बिमासम्बन्धी कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल डिल्लीबजार कारागार चलान भएका छन्।
सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलाशले दिएको आदेश बमोजिम उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
यस अघि बिमासम्बन्धी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
अभियोगपत्रअनुसार भट्ट र अग्रवालले विभिन्न बिमा कम्पनी तथा हिमालयन लार्जक्याप सामूहिक लगानी कोषको रकम दुरुपयोग गरी धितोपत्र बजारमा कृत्रिम रूपमा मूल्य उतारचढाव गराएको आरोप छ। उनीहरूले समूह बनाएर आपराधिक षड्यन्त्र गरेको, कोषको रकम अपचलन गरेको तथा ब्रोकर नम्बर ५५ को खातामा रकम जम्मा गराएको लगायतका गतिविधिमा संलग्न रहेको दाबी अभियोजन पक्षले गरेको छ।
उनीहरूविरुद्ध विभिन्न कसुरमा छुट्टाछुट्टै तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरिएको छ भने अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ।
अदालतमा बयानका क्रममा भट्टले आफ्नो वार्षिक आम्दानी करिब ३० करोड रुपैयाँ रहेको उल्लेख गर्दै आफूले कुनै गैरकानुनी आर्जन नगरेको जिकिर गरेका थिए।
यद्यपि हालसम्म संकलित प्रमाणका आधारमा दुवैलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउनुपर्ने निष्कर्षमा अदालत पुगेको हो।
अदालतले स्वास्थ्य अवस्था कमजोर रहेको उल्लेख गर्दै शुलभ अग्रवालको आवश्यक उपचारको उचित व्यवस्था गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ। साथै, उनीहरूबाट बरामद गरिएको सवारीसाधन कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा बुझाउन, मोबाइल तथा अन्य विद्युतीय उपकरण अदालतको जिन्सी शाखामा राख्न र बरामद विदेशी मुद्रा नेपाल राष्ट्र बैंकमा पठाउन आदेश दिएको छ।