रामहरि श्रेष्ठ हत्या प्रकरण : दोषी ठहरिएका माओवादी जनमुक्ति सेनाका तत्कालिन ब्रिग्रेड कमान्डर गोविन्दबहादुर बटालाले सर्बोच्च अदालतमा गरे आत्मसमर्पण

रामहरि श्रेष्ठ हत्या प्रकरण : दोषी ठहरिएका माओवादी जनमुक्ति सेनाका तत्कालिन ब्रिग्रेड कमान्डर गोविन्दबहादुर बटालाले सर्बोच्च अदालतमा गरे आत्मसमर्पण


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, ३ असार २०८३
  • 2.2K
    Shares

काठमाडौं, ३ असार २०८३ ।

काठमाण्डौको कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहरिएका गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बटाला बुधबार स्वेच्छाले अदालतमा उपस्थित भएका हुन्। आत्मसमर्पणपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

कानुनी व्यवस्थाअनुसार फैसला भएको ६० दिनभित्र आफैं अदालतमा उपस्थित हुने कैदीले सजायमा २० प्रतिशत छुट पाउने व्यवस्था रहेको छ।

सर्वोच्च अदालतले गत बिहीबार पुनरावलोकन सुनुवाइमार्फत यसअघि भएको सफाइको फैसला उल्ट्याउँदै बटालालाई दोषी ठहर गरेको थियो। न्यायाधीश नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले उनलाई जन्मकैद सरहको अपराधमा दोषी ठहर गरे पनि तत्कालीन मुलुकी ऐनअनुसार १० वर्ष कैद सजाय तोकेको हो।

यसअघि २०७७ साल साउनमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बटालालाई सफाइ दिएको थियो। त्यसपछि महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल सरकारले पुनरावलोकनका लागि निवेदन दिएको थियो। उक्त निवेदनमाथि तत्कालीन न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले पुनरावलोकन गर्न अनुमति दिएको थियो।

पुनरावलोकनपछिको अन्तिम फैसलामा बटालालाई १० वर्ष कैद सजाय सुनाइएको छ भने सह–प्रतिवादी अर्जुन कार्कीले सफाइ पाएका छन्। यसअघि जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सामान्य जरिवानाको सजाय सुनाएका थिए।

रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा लगिएको थियो। त्यहाँ भएको कुटपिटका कारण उनको मृत्यु भएको अभियोग छ। श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फालिएको अवस्थामा फेला परेको थियो।

अनुसन्धानका क्रममा शक्तिखोरस्थित तेस्रो डिभिजनसँग सम्बन्धित गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको आरोप लगाइएको थियो।

बटालाले यसअघि नै तीन वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन्। सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै अब उनले बाँकी सजाय भुक्तान गर्नुपर्ने भएको छ।

यसै प्रकरणका अर्का आरोपित तथा तत्कालीन माओवादी डिभिजन कमान्डर कालीबहादुर खाम भने पुर्पक्षका लागि कारागारमा रहेका छन् भने अन्य केही प्रतिवादी अझै फरार रहेका छन्।

प्रतिक्रिया