पोखराम ८ बैशाख २०८३।
लमजुङमा डबल क्याब जीप दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
सदरमुकाम बेसीशहरबाट उक्लिँदै गरेको ग १ ज ६४७० नम्बरको डबल क्याब जीप सोमबार साँझ करिब ५ बजे लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ स्थित उयाम साइड नजिकै सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ११ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा मर्स्याङ्दी–७ कै ३५ वर्षीया पुष्पा घले र ४० वर्षीया त्रिवेणी गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा परेर घाइते भएका तीन जनाको हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ। हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरुमा मर्स्याङ्दी–७ कै वर्ष ४० कि विमलादेवी घले र सात वर्षीय बालक सफल गुरुङको अवस्था गम्भीर रहेको छ भने वर्ष ३३ की रिता गुरुङको अवस्था मध्यम रहेको छ ।

जीपमा जम्मा १७ जना सवार रहेकोमा ३ जना सामान्य अवस्थामा घर फर्किएको जनाइएको छ। घाइते मध्ये तीन जनाको चितवन मेडिकल कलेज र बाँकीको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयले सडकको जोखिमपूर्ण अवस्था र सुरक्षाको अभावलाई दुर्घटनाको मुख्य कारण मान्दै आएका छन्। फाइल फोटो