पोखरा, २७ चैत्र २०८२ ।
पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ ।
पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्न गण्डकी स्पोर्टस् क्लबले आयोजना गरेको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता बिहिबारदेखि शुरु भएको हो ।
उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक गण्डकी स्पोर्टस् क्लब टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्याे । सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १/१ गोलको योगदान दिए भने, आयोजकका तर्फबाट अर्जुन गुरुङले सान्त्वना १ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा मेजर एफसीले घारीपाटन भेट्रान्सलाई २–० गोल अन्तरले हराउँदै मेजर एफसी दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए ।
संयोजक मुल्मीका अनुसार, अन्तिम खेलमा न्यूरोड एफसीले एलसी ब्रदर्शमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । अब शुक्रबार पहिलो चरणकै खेल हुने संयोजक मुल्मीले बताए ।
मुल्मीका अनुसार शुक्रबार आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकता र एनके एफसी भिड्नेछन् । तेस्रो खेलमा एट टु नाइन र पोखरा १५ भिड्नेछन् । चौथों खेलमा टिचर एफसी र पोखरा लायन भिड्नेछन् भने अन्तिम खेलमा हेमजा एफसी र कस्केरी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र्यामोस गुरुङले जानकारी दिए ।
उनका अनुसार विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।
आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।