पोखरा , २७ चैत २०८२।
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप कृष्णपुर नगरपालिका–१ कुगडास्थित भित्री कच्ची सडकखण्डमा मंगलबार साँझ ६ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटनाग्रस्त हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
उक्त दुर्घटनामा कृष्णपुर नगरपालिका –१ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोहि दुर्घटनामा परेर जिप चालक कृष्णपुर नगरपालिका–१ का २४ वर्षीय अर्जुन साउँद, धनसरी बोहरा, सरिता बोहरा भावना पार्की, रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनी निवासी गंगा बिष्ट घाइते भएका छन्। उनीहरूको मुख, टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबै जनालाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढीस्थित अस्पताल पठाइएको छ। घाइतेमध्ये चालक अर्जुन साउदको टाउको र शरीरमा गम्भीर चोट लागेको छ।
उक्त दुर्घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।