पोखरा , २६ चैत २०८२।
झुक्किएर गरिएको फोनको बिबाद चर्किंदा झापाका दाजुभाईको ललितपुरको कृष्णमन्दिर परिसरमा हत्या भएको खुलेको छ।
कृष्ण मन्दिरमा छुराले हानेर हत्या गरिएका सहोदर दाजुभाइ झापाको कमल गाउँपालिका–६ का ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्यामा संलग्न युवाहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा त्यस्तो रहस्य खुलेको हो।
उनीहरुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र नवलपरासीको गैँडाकोटका गगन सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु सबैलाई आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।
प्रहरीका अनुसार दुई दिनअघि नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो। त्यसक्रममा उनीहरूबीच फोनमै विवाद भएको थियो। विवाद समाधानको लागि भन्दै सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटनस्थित कृष्ण मन्दिर परिसरमा बोलाएका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
इमाडोलबाट उनीहरू पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियार दाजुभाइमाथि प्रहार गरेका प्रहरीले जनाएको छ।
‘दाजुभाइले गल्ती भयो’ भनेर कुरा गर्न खोज्दा कुरै नसुनी त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनलाई प्रहार गरेका थिए । भाइमाथि चक्कु प्रहार भएपछि दाइ सुमित छुट्याउन तम्सिए । तर, उनीमाथि पनि छुरा प्रहार भएको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
छुरा प्रहारबाट गम्भीर घाइते उनीहरुलाई तत्काल उपचारका लागि बीएण्डबी अस्पतालमा पुर्याइएकोमा उनीहरुको उपचारकै क्रममा मृत्यु भएको थियो।
प्रहरीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार सुमित र सिर्जन बुबासहित ललितपुरको इमाडोलमा बस्थे । उनीहरु त्यहीँ जन्मिएका र हुर्किएका हुन् । उनीहरुकी आमा लण्डनमा रहेको सूचना प्रहरीले पाएको छ । सुमित र सिर्जन पनि आमा भेट्न लन्डन जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।