पोखरा , २६ चैत २०८२।
जुम्लादेखि कालीकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर हिमा-६ पातरखोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी हिम बहादुर खत्रीले जानकारी दिए ।
सोही दुर्घटनामा परेर हिमा गाउपालिका ७ का लोकेन्द्र शाही र सोही गाउपालिका ६ बस्ने कल ब अधिकारी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, हिमा-६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लैजाँदै गरेको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
विरामी बुबाको उपचारका लागि संगै गएका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको हो | घाईते हिमा-६ का कलबहादुरको खुट्टामा चोट लागेको छ । भने अर्का हिमा-७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
कालीकोट प्रहरी प्रमुख हिमबहादुर खत्रीले बाटोमा बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको बताए । घाइते दुवै जनाको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।